सिप्टीमा आवाशिय बिद्यालय स्थापना गरीने



बिस्नप्रसाद न्यौपाने
चैत १४, कालीकोट ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको निकै रमणीय ठाँउ सिप्टी बिशालीमा नेपालकै सुविधा सम्पन्न डिजिटल आवाशिय बिद्यालय स्थापना हुने भएको छ । कर्णाली फाउण्डेशनको पहलमा कालीकोट जिल्लाकै रमणीय पर्यटकिय क्षेत्र सिप्टी बिशालीमा नेपालकै सुविधा सम्पन्न डिजिटल आवाशिय बिद्यालय स्थापना हुने भएको हो ।

कर्णाली फाउण्डेशनले बुधबार पत्रकार सम्मेलन गरेर कालीकोटको रास्कोट नगरपालिकाको सिप्टी बिशालीमा नेपालकै सुविधा सम्पन्न आवाशिय बिद्यालय स्थापना गर्नका लागि यही चैत २४ गते रास्कोटमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको जनाएको छ । साँस्कृतिक कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेपालकै चर्चित कलाकारहरु केदार घिमिरे, पुस्कल शर्मा, सुकदेव अधिकारी र मध्यपश्चिमकै चर्चित डान्सर माया मगर लगायतका कलाकारहरु आउने जनाएको छ । कार्यक्रममा बिद्यार्थीहरुलाई प्रतिव्यक्ति ५० र अन्न्यलाई १ सय शुल्क लाग्ने आयोजकले जनाएको छ ।

कर्णाली फाउण्डेशनका अध्यक्ष तिलक उपाध्यायले पत्रकार सम्मेलन मार्फत जानकारी दिदै कालीकोट जिल्लाको निकै सम्भावना रहेको रास्कोटको पर्यटकिय क्षेत्र सिप्टी बिशालीमा सुविधा सम्पन्न आवाशिय बिद्यालय, आलु र स्याउको परिकार मात्र पाइने रिसार्ट, ३ स्टार होटेल, नेपालकै ठुलो अनुसन्धान केन्द्र, ध्यायन केन्द्र, प्राबिधिक शिक्षालय, हर्बल टी फ्याक्ट्री, स्याउ फारम, भैसी फारम र सिप्टीको देउरा पाटनमा नेपालकै ठुलो शीव मन्दीर स्थापना गर्ने जानकारी दिनुभयो । उहाँले त्यसका लागि रास्कोट लगायतका मुलुकका बिभिन्न शहरहरुमा च्यारेटि सो, तीन तहका सरकारबाट सहयोग र एनआरएनको सहयोग लिने पनि बताउनुभयो ।

उहाँले कर्णाली फाउण्डेशन मार्फत आगामी २०७५ सालको दशैसम्म सिप्टी बिशालीमा खानेपानी, बिद्युत र सडक पु¥याउने र आगामी २ बर्षभित्र सिप्टीमा बिद्यालय संचालनमा ल्याउने बताउनुभयो । यस परियोजनाले रास्कोट नगरपालिकाका पहिलो चरणमा मात्र ५ सय जना स्थानिय नागरिकहरुले रोजगारी पाउनुका साथै बाबु कर्मचारी, छोरो बिद्यालय पढ्ने बाताबरण बनाइने भन्दै अध्यक्ष उपाध्यायले कर्णाली प्रदेशका १० जिल्लाका बिपन्न, दलित, जनजाती लगायतका बिद्यार्थीहरुलाई सत प्रतिशत छात्रबृतिको व्यवस्था गर्ने र त्यस बाहिरका बिद्यार्थीहरु पढ्न आउन चाहे शुल्क तिर्नुपर्ने बताउनु भयो । उहाँका अनुसार त्यसका लागि रास्कोट नगरपालिकालाई सार्बजनिक जग्गा भाडामा दिन आग्रह गरिएको र नीजि जग्गा खरीदका लागि पनि स्थानिय जग्गा धनीहरुसँग पनि छलफल गरिने योजना सार्बजनि गर्नुभयो ।

सिप्टीमा स्थापना गरिने बिद्यालय नेपालकै स्वच्छ हावापानी, रमणीय ठाँउ र सुविधा सम्पन्न हुने दाबी गर्दै उपाध्यायले स्थापना गरिने ३ स्टार होटेलमा बिदेशी पर्यटकहरु तान्ने, अनुसन्धान केन्द्रमा मुलुकका सबै बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई खान बस्नको निशुल्क व्यवस्था गरिदिएर अनुसन्धानका लागि हायर गरिने पनि उहाँको योजना छ । उहाँले त्यस बापत ती बिद्यार्थीहरुले आफुहरुले संचालन गरेको बिद्यालयमा दैनिक दुई वटा कक्षा लिनुपर्ने व्यवस्था गर्ने भन्दै अध्यक्ष उपाध्यायले कालीकोट जिल्लाकै पहिचान र सम्बृद्धिका लागि आफुहरुले कर्णाली फाउण्डेशन दर्ता गरेर लागि परेको र यस अभियानमा सबैले सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।