अमेरिकाको दशैँ संस्मरण: जहाँ निधारको रातो टीकालार्इ रगत ठानियो


आफन्तले टीका पुछेर काममा जान सुझाए

– सरगम भट्टराई, अमेरिका 
अमेरिकाको दशैँ विशेष गरी नेपालीहरुले जमघट एवं पार्टी आयोजना गरेर मनाउँछन् । नेपालबाट नाम चलेका कलाकारलाई निम्त्याएर तथा स्थानीय कलाकारहरुको संगीतमय प्रस्तुतिहरू गरिन्छन् ।

विजयादशमी सीमित आफन्तका हातबाट टीका थापेर बित्छ । आफन्त नहुने धेरै मान्छेहरु ख़ाली निधार राख्नुपर्दा कति दुखी हुन्छन्, त्यो कुरा पीडा भोग्नेलाई सोध्दा थाहा हुन्छ ।

एउटा ज्यान मात्र परदेशमा भएर के भो, मन त हरपल त्यो रमाइलो दशैँमा खेलेको पिङkrishna-sargam-bhattarai-300x300, आमाले बनाएको सेलरोटी, सानो छँदा गाउँभरि टीका थापेर बटुलेका रोटीहरु र पूर्णिमाको मेला सम्झेरै बित्छ परदेशको दशैँ ।

यसपालिको दशैँ पनि घरदेश सम्झेरै बित्यो ।

घरदेशमा जस्तो दशैँमा बिदा हुँदैन अमेरिकामा । त्यसमाथि क्रिश्चियनहरुको देशमा सानो संख्यामा भएका नेपालीहरुले मनाउने दशैँका बारेमा यहाँका धेरै मान्छेलाई थाहै छैन । तर, खुशीको कुरा, सबै धर्म र संस्कारको सम्मान हुन्छ अमेरिकामा । त्यसैले होला, नेपालका लागि अमेरिकी राजदूतले टीका थापेर दशैँको सम्मान गरेको ।

हो ! मलाई पनि धेरैलाई जस्तै दशैँको दिनमा छुट्टी मिलेन, यसपालि परदेशमा आमाको हातको टीका थाप्न पाएको खुशी त जति नापे पनि सकिन्नथ्यो होला, तर टीका थापेको केही घन्टामै मनगह्रुंगो बनाई काममा जाँदा परदेशी जीवनप्रति आएको वितृष्णा पनि मापन गर्न नसकिने थियो ।

जे होस्, काममा त जानैपर्ने थियो नै । साथीभाइले काममा जाँदा “टीका पुछेर

जा” भन्दै थिए ।

तर, सात समून्द्र पारिबाट मेरो निधार रंग्याउन आएकी मेरी सत्तरी बर्षकी आमाले हर्षका आँशु झार्दै दीर्घायु र सुस्वास्थ्य अनि समृद्दिका लागि लगाइदिएको टीका केही घन्टामै म कसरी पुछ्न सक्थेँ ?मेरा सीमित आफन्त र अभिभावकले दिएको आशिष अनि न्याय र बिजयको प्रतीक यो रातो टीका र पहेँलो जमरा म कसरी पखाल्न सक्थेँ ?

मैले पुछिनँ, पखालिनँ । निधारभरि रातो टीका र जमरा लिएर म काममा हिँडे । बाटोभरि मान्छेहरु मलाई हेर्दै थिए । अलि टाढाका मान्छेहरु मेरो निधारभरिको रातो टीकालाई रगत ठानेछन् क्यारे: ओह माई गड़ ! भन्दैथिए ।

कोही मान्छेले ‘ह्वाट्स रोंग अन योर फोरहेड’ भन्दा त रीसले कन्सिरी पनि तातेको थियो मेरो ।

तर, म संयमित भएर मुस्कुराउँदै असत्य र बेइमान विरुद्द विजय प्राप्त गरेको गौरबशाली दिनको स
म्झनामा मनाइने महान चाड बिजयाद़शमी मनाएको भन्दा मान्छेहरु बडो उत्सुक भएर सोधिरहेका थिए ।

म काममा आइपुगेँ । सहकर्मी साथीहरु पनि मुखामुख गरिरहेका थिए। सबैको नजर मेरै निधारमा थियो ।

आफ्नो गौरव,आफ्नो पर्व, आफ्नो पहिचान र मेरी ७० बर्षकी आमा र आफन्तले दिएको वरदान जडित त्यो रातोटीका त मेरो ‘स्वाभिमान’ पो थियो । म हाँस्दै काममा तल्लीन भएँ ।

दशैँ भनेर जान्ने अत्यन्त थोरैले शुभकामना दिए मलाई । कोही रगत भनेर झस्किए त धेरैजसो “ह्वाट्स रोंग अन योर फोरहेड” भन्नेहरु धेरै आए, धेरै गए ।

सबैलाई मेरो प्यारो दशैँको बखान गर्न म बबुरोले कहाँ सक्थेँ र ! त्यो पनि काममा व्यस्त भएका बेला । त्यसैले केही कागजका चिर्कटोमा नेपालमा मनाइने दशैँका बारेमा ‘गुगल’ गरेर हेर्न सुझाएँ ।

नेपाललाई हिमाल, बुद्द र सगरमाथाको देश भनेर चिन्ने अमेरिकनहरुले अनौठो पर्व दशैँका बारेमा मैलेभन्दा बढी मेरो निधारले धेरै बताएको कुरा सुन्दा म आफैलाई कति भाग्यमानी ठानेँ, त्यो म शब्दमा बताउन सक्दिँन ।

जे होस् धेरै मान्छेहरु यो गज्जबको देश नेपालको भ्रमण गर्न ईच्छुक देखिए । मैले दशैँको दिनमा काममा आउनु पर्दाको सबै पीडा भूलेँ ।
सबैले यसै गरी हाम्रो नेपाल र संस्कृतिका बारेमा बताइरहने हो भने एक दिन हाम्रो देश सबैको गन्तब्यमा पर्ने निश्चित छ ।

मैले त अमेरिकामा भए पनि अझैसम्म जनै फालेको छैन र फाल्ने पनि छैन । एकदिन यो जनैका बारेमा पनि धेरै अमेरिकनहरुलाई बताउनुछ । जनै मात्रै हैन, हिमाल पहाड र तराईका धेरै संस्कृति र पर्वका बारेमा बताउनुछ ।

यही विविध संस्कृतिको प्रचार-प्रसारले नेपालको नाम अझ उच्च राख्न सकिन्छ भन्ने मेरो ठहर छ ।

धेरै नेपालीहरुको खुशी र मिलन अनि बिजयको प्रतिबिम्ब दशैँ । यही एउटा दशैँ हो, जुनबेला शहर सन्नाटा हुन्छ, अनि गाउँ हाँस्छ । परदेशमा बसेका छुट्टी पाउनेहरु मीठो मिलनको अनुभूति गर्दै घर फर्कन्छन् ।

दशैँमा हुने लामो बिदा तथा दशैँ भत्ता पाउने भएर होला, घरदेशमा सरकारी जागिर गर्नेहरुलाई बिदा र दशैँ खर्च दुबै हुन्छ । तर, परदेशमा त्यही दशैँमा पनि मन नलागी-नलागी काममा जानुपर्दाको पीडा कसरी नाप्नु र ! तर, कहिलेकाहिँ पीडाभित्रै पनि खुशी फूल्दोरहेछ ।

बडादशैँको गहिरो प्रभाव धार्मिकभन्दा पनि सांस्कृतिक र सामाजिक एकतामा केन्द्रित छ, वर्षभरि भएका स-साना मनमुटावलाई यही दशैँले मिलाएको देखेका हामी परदेशीहरु घरदेशमा सुख र समृद्दिको कामना गरेरै बिताउँछौं ।

साभारः अनलाईन खबर ।