
२८ चैत, सुर्खेत । कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगर नगरकार्यपालिकाको चौथौ नगरसभा बिहिबारदेखी शुरु भएको छ । प्रदेश राजधानीको नगरपालिकाले विकासमा उदाहरणिय विकास निर्माण सञ्चालन गरेर सन्देश दिनको सट्टा कछुवा गतिमा अघि बढेको छ । तर रोचक पक्ष के छ भने नगरसभामा जनप्रतिनिधिहरुले नै गुनासोका चाङ पेश गरेका छन् ।
सभामा बोल्ने सदस्यहरुले नगरपालिकाको प्रशासनको सेवाप्रवाह, विकास निर्माण, बजेट कार्यान्वय लगायतका विषयमा देखिएको ढिलासुस्तीका बारेमा खुलेरै गुनासा राखे । स्वास्थ्य विमा कार्यक्रम लागु भएपनि सर्वसाधारणले सुविधा उपयोग गर्न नपाएको, चक्रपथको काम तत्काल अघि बढाउन गम्भीर हुननसकेको सुकुम्वासीहरुलाइ लालपुर्जा उपलब्ध गराउनुपर्ने विनियोजित बजेट कार्यान्वयन गर्न नसकेको खोला, नदीबाट बालुवा, गिट्टी निकासी भइरहेको तर, नगरका सडकहरु ग्रावेल हुन नसकेको उपत्यकाभित्र विद्युतको पोलहरु जोखिमयुक्त बनेको सडकमा भएका पोल जिर्ण अवस्थामा रहेको, जग्गाको कित्ताकाट र नक्सापास रोक्काका बारेमा चर्को आलोचना गरेका थिए
नगरसभामा उपप्रमुख मोहनमाया ढकालले दुई वटा विधेयक टेवुल गरेकी छन् । उनले स्वास्थ्य सेवा विधेयक–२०७५ र विपद् व्यवस्थापन न्युनिकरण विधेयक–२०७५ टेवुल गरिएको हो । नगरसभा २०७६ बैशाख २ गतेसम्मका लागि स्थागित गरिएको छ ।



Milan Shrestha । २८ चैत्र २०७५, बिहीबार २१:४५ बजे