कालीकोटमा स्वास्थ्य बिमा कार्यक्रम लागु



बिस्नप्रसाद न्यौपाने
चैत १४, कालीकोट ।
कालीकोट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम औपचारीक रुपमा लागु भएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालीकोट र जिल्लाका सबै स्थानिय तहको समन्वयमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको हो ।

स्वास्थ्य बिमा बोर्डबाट खटि आएका कर्मचारी कपिलदेव अ¥यालले जिल्लाका ३ नगरपालिका र ३ गाँउपालिकामा स्वास्थ्य बिमा कार्यक्रमको अभिमुखीकरण गरेर स्वास्थ्य बिमा कार्यक्रम लागु भएको जानकारी दिनुभयो । बुधबार जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकामा सरोकारवालाहरुलाई यसबारे जानकारी दिदै उहाँले अब क्रमश बाँकी तीन नगरपालिकामा पनि गएर अभिमुखीकरण सहित स्थानिय तह स्वास्थ्य बिमा संयोजन समिति गठन गरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाँउपालिका, पचालझरना गाँउपालिका र शान्नित्रिवेणी गाँउपालिकामा अभिमुखीकरण गरिसकिएको छ । अब जिल्लाको नरहरीनाथ गाँउपालिका, कालिका गाँउपालिका र महावै गाँउपालिकामा तत्काल गर्ने तयारी रहेको छ ।

स्थानिय तहमा अभिमुखीकरण सकिएपछि सबै स्थानिय तहका प्रत्येक वडाहरुमा पनि स्वास्थ्य बिमा दर्ता सहयोगी छनोट समिति गठन, अभिमुखीकरणको अभियान थालिने छ । अभिमुखीकरण गरिएका नगरपालिका तथा गाउपालिकाका वडास्तरमा समिति गठन सुरु भईसकेको जिल्ला स्वास्थ्य कार्र्यालय कालिकोटका सिअहेव कटकबहादुर महतले बताउनुभयो । महतका अनुसार नेपाल सरकारले निकै प्राथमिक्ता दिएको स्वास्थ्य बिमा कार्यक्रम सफल पार्न स्थानिय सरोकारवालाहरुले पनि सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमूख अनिपाल शाही, प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, खाँडाचक्र नगर उपप्रमूख बिजया बिष्ट लगायतका सरोकारवालाहरुरले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

स्वास्थ्य बिमा कार्यक्रमका पाँच जना सम्म सदस्य भएको हरेक परिवारले २ हजार, ५ सय र पाँच जना भन्दा बढी सदस्य भएका संयुक्त परिवारले प्रति सदस्य ४ सय, २५ रुपैया थप तिर्नुपर्ने बताइएको छ । जसबाट एक बर्षभरी एक परिवारले ५० हजार सम्मको उपचार सहायता पाउनेछन् । बिमाका लागि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र उपचार गराउनु पर्ने बिमा बोर्डले जनाएको छ ।