रोजगारी श्रृजना गर्न कालिमाटीमा मोटो रकम खर्च हुँदै


१३ असोज, सल्यान । स्थानीयस्तरमै रोजगारी श्रृजना गर्नका लागि सल्यानको कालीमाटी गाउँपालिकाले बजेट केन्द्रीत गरेको छ ।

कोभिड–१९ को कारण बैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै पनि रोजगारी गुमाएकाहरुलाई सम्बोधन गर्नका लागि रोजगार मैत्री बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले बतानुभएको छ ।

‘गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम’, ‘सडक मर्मतसम्भार कार्यक्रम’, ‘दलित तथा विपन्न संग अध्यक्ष कार्यक्रम’, ‘एक वडा एक उत्पादन कार्यक्रम’, ‘बाख्रापालन पकेट क्षेत्र कार्यक्रम’ जस्ता योजना र कार्यक्रम कालिमाटी गाउँपालिकामा यस वर्ष सञ्चालन हुँदैछन् । सार्वजनिक क्षेत्र तथा पूर्वाधार क्षेत्रमा गाउँपालिकावासीले रोजगारी पाउन सकुन् भनेर बजेट केन्द्रीत गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमका लागि एक करोड ३० लाख रुपैयाँ बजेट यस वर्ष खर्च हुँदैछ । जसमा भौतिक पूर्वाधार निर्माण कार्यमा स्थानीयले रोजगारी पाउने छन् । अध्यक्ष केसीले भन्नुभयो, ‘हामीले ५ लाख भन्दा कमका कुनै पनि योजना बनाउने छैनौँ, यो कार्यक्रमका लागि कार्यविधि पनि तयार भइसकेको छ । हामी गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमबाट गाउँपालिकावासी नागरिकहरुलाई रोजगारि दिने गरि अघि बढेका छौँ ।’

‘सडक मर्मतसम्भार कार्यक्रम’ का लागि मात्रै ५० लाख रुपैयाँ कालिमाटीले विनियोजन गरेको छ । यस्तै खरको छाना विस्तापित गर्ने उद्देश्यले ‘दलित तथा विपन्न संग अध्यक्ष कार्यक्रम’, गाउँपालिकाले कार्यान्वयन गर्दै छ भने ‘एक वडा एक उत्पादन कार्यक्रम’ का लागि ९० लाख रुपैयाँ खर्च हुँदै छ । कृषि क्षेत्रमा उत्पादनमुखी अनुदान प्रदान गरिने गाउँपालिकाले जनाएको छ । संघ तथा प्रदेश सरकारसंगको सहकार्य, साझेदारीमा पनि विभिन्न महत्वपूर्ण योजनाहरु यस वर्ष सञ्चालनको क्रममा रहेको अध्यक्ष केसीले जानकारि दिनुभयो । उहाँका अनुसार बाख्रापालन पकेट क्षेत्रका लागि अनुदान उपलब्ध गराइने छ ।

कालिमाटीमा तिहार अघी नै बत्ती बल्ने

यसैवीच सल्यानको कालिमाटीमा तिहार अघि विजुली बत्ति बल्ने भएको छ । विद्युतको पहुँचबाट निकै टाढा रहेको कालीमाटी गाउँपालिकाले विद्युत विस्तारलाई निकै प्राथमिकतामा राखेको छ । मर्चेबारी, टाट्के, लगाएत ५ भन्दा बढी बस्तीमा तिहार अघिसम्म विजुली बत्ति बाल्ने गरी तिब्र गतिमा काम भइरहेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारीदिनुभयो ।

९० प्रतिशत साझेदारी सहकारी विद्युत र १० प्रतिशत गाउँपालिकाको बजेट चार करोड ५० लाख रुपैयाँबाट विद्युतीकिरणको काम भइरहेको छ । यस्तै गाउँपालिकाकै एक करोड ३३ लाख रुपैयाँबाट विद्युतको एउटा योजना सञ्चालन भइरहेको छ भने प्रदेश सरकारको एक करोड ११ लाखबाट पनि विद्युत विस्तार कार्य चलिरहेको छ ।

यस आर्थिक वर्षमा पनि गाउँपालिकाले विद्युतका लागि भनेर ५० लाख रुपैयाँ विनियोजन गरेको छ । अध्यक्ष केसीका अनुसार वडा नं ६ मा लाइन विस्तार भइसकेको छ, अव बत्ति बल्न मात्रै बाँकी छ । कालीमाटी गाउँपालिकामा सुर्खेत र दाङबाट विद्युत ल्याइएको छ ।