राराबाटै कर्णाली प्रदेशको विकास र सम्बृद्धि उदाउँछ- मन्त्री भण्डारी


बिस्नप्रसाद न्यौपाने
चैत १६,  कालिकोट ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले यो प्रदेशको सम्बृद्धि कर्णालीको रारा उदाउने बताउनु भएको छ ।

आगामी २०७५ बैशाख १ देखि आयोजना हुने रारा कर्णाली पर्यटन बर्ष २०७५ कार्यक्रम तयारीकालागि आज (शुक्रबार) कालिकोटमा मन्त्री भण्डारीले पर्यटन बर्ष समारोहका बारेमा जानकारी दिदै यस्तो बताउनु भएको हो ।

मन्त्री भण्डारीले नेपालकै कम आयु र कम आय भएको गरिब प्रदेशमा जन्मिनु कुनै अपराध नभएको बताउदै अबको करिब डेड दशकमा कर्णाली प्रदेशको सम्बृद्धि हेर्न निम्तो पठाउने बताउनुभयो ।

प्रचुर सम्भावना भित्र अभाव र समस्याले चिनिएको कर्णाली प्रदेशमा अब आफुहरुले कर्णाली प्रदेशको पहिचान नै बदल्ने दाबी गर्दै मन्त्री भण्डारीले कर्णाली प्रदेशले चुनौतिको चाङबाट सम्भावनाको खोजी गरि बिकास र सम्बृद्धिको उदय कर्णालीबाट उदाउने ठोकुवा गर्नुभयो ।

मुलुकभरका खस आर्यलाई आफ्नो पूर्खा हेर्न जुम्लाको सिंजा आउन आहृवान गर्ने, एसियाकै अग्लो कालिकोटमा रहेको पचालझरना, प्राकृतिक मनमोहक मुगुको रारा ताल, नेपालकै गहिरो डोल्पाको से-फोक्सुण्डो ताल, हुम्लाको कैलाश मानसरोवर र ऐतिहासिक कांक्रेबिहार संरक्षित बन हेर्न सुर्खेत बोलाउने र पर्यटन क्षेत्रबाटै सम्बृद्धिको खोजी गरिने कर्णालीमा पर्यटन मैत्री निती, संरचना र उचित बाताबरण बनाईने मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले आफुहरुले कर्णाली प्रदेशको १० बर्ष पर्यटन गुरु योजना र पाँच बर्ष कार्य योजना बनाउने तयारी गरिरहेको बताउनुभयो ।

कर्णाली प्रदेशको सम्बृद्धि पर्यटन क्षेत्रबाटै हुने अनुमान गरिएको बताउदै यस प्रदेशका राजमार्गमा रहेका व्यवसायीहरुलाई तालिमको व्यवस्था समेत गरिने मन्त्री बुढाले जानकारी भयो ।

कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले कर्णाली राजमार्गको स्तोरोन्नती, जिल्लाका पर्यटकिय क्षेत्रको प्रवर्धन लगायतका बिषयमा कालिकोट जिल्लाका तर्फबाट मागपत्र प्रस्तुत गर्दै माग गर्नुभएको थियो ।

कार्यक्रममा प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, नेकपा एमालेका उपाध्यक्ष रमेश शाही, पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डे, नेपाल बार इकाईका सचिव दमनराज बम लगायतकाले कर्णाली प्रदेशको विकास र सम्बृद्धिका लागि कृषि, पर्यटन, जल , जंगल, जडीबुटी लगायतका प्राकृकि श्रोतहरुको सदुपयोग गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनीपाल शाहीको अध्यक्षतामा भएको थियो ।