खस भाषाको बृहत शब्दकोषको पुरावलोकन हुँदै


                                                                                                      सम्पादक रमानन्द आचार्य

कृष्णराज धमाला
भाद्र २४, सुर्खेत ।

खसीया आखर लेख्ने काम अन्तिम चरणमा पुगेको छ । पहिलो पटक खस भाषामा लेख्न लागिएको खस भाषाको बृहत शब्दकोष खसीया आखरको पाण्डुलिपीको तयारी अन्तिम चरणमा पुगेको हो ।

करिब ३५ हजार शब्दहरुको लेखन कार्य सकिएको र त्यसको पुनरावलोकन गर्ने काम पनि अन्तिम चरणमा पुगेको लेखक रमानन्द आचार्यले बताउनु भएको छ । अब दुई वटा अक्षरको मात्रै पुनरावलोक गर्न बाँकि छ, आचार्यले भन्नुभयो अझै करिब ७ महिना जत्ति लाग्छ होला ।

तत्कालिन जिल्ला विकास समिति जुम्लाले शब्द संकलनका लागि सहयोग गरेको थियो, अहिले चन्दनाथ नगरपालिकाले टाइप गर्नका लागि सहयोग गर्ने आस्वासन दिएको छ । शब्दकोष ५ सय बढि पृष्ठ हुने सम्भावना रहेको भन्दै आचार्यले विदेशी भाषाको नक्कलले आफ्नै मातृभाषा हराउँदै जान थालेको प्रति चिन्तित हुँदै खस शव्द खोज्दै शव्दकोस निर्माण अभियानमा जुटेको हुँ । यो अभियान थालेको ८ वर्ष वितेको छ । अहिले शब्दपंक्तिहरु पुनरावलोकन भैरहेको छ ।

नेपाली भाषाको उत्पति भाषाका रुपमा गनिएको खस भाषा बोलिने क्षेत्रहरुमा कथ्य भाषाका रुपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्नका लागि खसिया आखर शब्दकोश निर्माण कार्य थालिएको हो । प्रारम्भिक चरणमा जुम्लाको चौधविस, सिंजा, असी, पाँचसय क्षेत्र, मुगु, हुम्लाको सोरु गल्पा, कालीकोटको रास्कोट र डोल्पाको तलिभोटानमा गएर शब्दहरु संकलन गरिएको छ । शब्दकोशलाई चार उपभाषिकामा विभाजन गरिएको छ । पहिलो असी दराली भाषिका यस उपभाषिका भित्र असी दरा, पाँचसय दरा, सिंजा दराका भाषाहरुका शव्द राखिएको छ भने दोस्रो तिब्रिकोटी भाषिका यस भित्र चौधविस दरा र डोल्पाका भाषाहरु छन् । तेस्रो रास्कोटी भाषिका यस भित्र कालीकोटमा बोलिने भाषाहरु छन् भने चौथो मुहु भाषिका यस भित्र मुगु र हुम्ला जिल्ला भित्र बोलिने भाषाहरुलाई समावेश गरिएको सम्पादक आचार्यको भनाई छ । आचार्यले भन्नुभयो, खस मल्ल साम्राज्यकाल देखि बोलिने भाषाका शब्दहरु संकलन भई शब्द पंक्ति पुनरावलोकन भैरहेको छ ।

ऐतिहाँसिक पुरानो खस राज्य कर्णालीको जुम्ला सिंजा र खस बस्ति सम्बन्धि त्यहाँ प्रयोग हुने शब्दकोष खसिया आखर अर्थात खस राज्य भित्र र पेरिफेरिमा बोलिने भाषाहरुको शब्दकोषको संगालोका लागि आयार्यको टोलि अहोरात्र खटिरहेको छ ।

२०६७ सालमा तत्कालिन जुम्लाका स्थानीय विकास अधिकारी तिलक पौडेल संगको समन्वयमा शुरु भएको जुम्ली शब्दकोष निर्माण योजना भने बिचमा केही आर्थिक समस्याका कारण लेखन कार्यमा समस्या आयो ।

जुम्ली शब्दकोष तयार गर्नका लागि बृहत शब्दकोष देखि डोट्याली शब्दकोष, रत्नाकर देवकोटाका कर्णालीका इतिथिति लगायतका संग्रहहरु सहित विभिन्न प्रकारका सामाग्रीहरुको संकलन गरि शब्दकोष तयार भईरहेको छ । आचार्यले जुम्ली शब्दकोष २०७४ सालमा सकिने योजना बनाएको भएपनि दाता नभेटिदा प्रकाशन हुन नसकेको उहाको भनाई छ । आचार्य हाल संकलित शब्दहरुको पुनरावलोकन गर्ने कार्यमा ब्यस्त हुनुहुन्छ ।