कर्णाली प्रदेश सरकारले बुधबार वितरण गरेको पत्रकारिता पुरस्कारप्रति समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले आपत्ति जनाएको छ । दलिय राजनीतिक आबद्धताका आधारमा पुरस्कार वितरण गरेको र पुरस्कार सिफारिस समितिमै एमालेका कार्यकर्ताहरु दलिय राजनीति गरेको भन्दै संगठनले आपत्ति जनाएको हो ।
कर्णाली प्रदेश सरकारले पत्रकारिता पुरस्कार छनौटका लागि गठन गरेको सिफारिस समितिमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य टीका विष्ट र एमाले कै प्रदेशको प्रचार तथा प्रकाशन विभागका सचिव प्रकाश अधिकारीलाई राखेर पत्रकार पुरस्कार वितरण गरेको थियो । ‘यो वर्ष कर्णाली प्रदेश सरकारले नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य टीका विष्ट र प्रचार तथा प्रकाशन विभागका सचिव प्रकाश अधिकारी लगायत आफू निकट व्यक्तिहरुलाई राखेर पुरस्कार सिफारिस समिति गठन गर्दै छानीछानी आफू निकटका मान्छेलाई पुरस्कार वितरण गरेको, आफू अनुकुल कार्यविधि बनाएको, कार्यविधिले तोकेको मापदण्ड पालना नगरेको र पहिलो पटक दलिय भागबण्डा गरेर पत्रकारिता पुरस्कार वितरण गरेको घृणित क्रियाकलापप्रति हाम्रो समाजवादी प्रेस संगठन घोर आपत्ती प्रकट गर्दछ’ ।
संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । साथै कर्णालीवासीले आशा र अपेक्षा गरेका मुख्यमन्त्री यामलाल कँडेलले नै नेतृत्व गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पुरस्कारको गरिमा र सम्मानलाई गिराउने काम गरेको भन्दै समाजवादीले सरकार सबैको अविभावक हो भन्ने कुरालाई ख्याल राख्न र सरकारमा बसेर पार्टी सञ्चालन गरे जस्ता गतिविधि नदोहो¥याउन आग्रहसमेत गरेको छ ।
संगठनका केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज अनन्त बराल, कर्णाली प्रदेश कमिटीका संयोजक देव राना, कार्यवहाक अध्यक्ष राधिका बराल र महासचिव शिवलाल डाँगीले संयुक्त रुमा प्रकाशित गरेको विज्ञप्तिमा प्रदेश सरकार र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो संगठनलाई पटक–पटक गरेको सौतेनी व्यवहार र अन्यायप्रति घोर निन्दा र भ्रत्सना समेत गरिएको छ ।
समाजवादीले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, समग्र पत्रकारिता र पत्रकारका पक्षमा वकालत गर्ने आग्रह गरेको छ । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, समग्र पत्रकारिता र पत्रकारका पक्षमा वकालत गर्ने पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका जिम्मेवार साथीहरुलाई समेत कर्णाली प्रदेश सरकारले पेशागत संघ संगठनप्रति गरिरहेको सौतेनी व्यवहारको साँची नबन्न र पदीय गरिमा जोगाउन पनि विनम्र अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।




Prawash Kumar Shakya । ४ भाद्र २०८२, बुधबार २१:१८ बजे