राष्ट्रपति रनिङ्ग शिल्डका लागि रकम अभाव


२२ चैत्र  ।

पुर्बी सुर्खेतको  रानीवासमा आगामी चैत २७ देखि शुरु हुने १० औं राष्ट्रपति रनिङ्ग शिल्डका लागि अझै रकम अभाव भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

समितिले विहिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै रकम अभावबारे जानकारी दिएको हो । समितिका कोषाध्यक्ष वीरबहादुर रावतले प्रतियोगिता सम्पन्न गर्न १ लाख अपुग भएको जानकारी दिनुभएको छ । सुर्खेतका ९ वटै स्थानीय तहसंग पैसा मागियो  कोषाध्यक्ष रावतले भन्नुभयो सवैसंग माग्दा पनि १ लाख पुगेन । आयोजक जनता माध्यामिक विद्यालय रानीवासले २ लाख दियो, तर पनि आवश्यक रकम जुटाउन सकिएको छैन ।’ प्रतियोगिताका लागि १२ लाख ५० हजार रकम आवश्यक रहेको समितिले जनाएको छ । आगामी चैत २७ देखि २९ गते सम्म चिङ्गाड गाउँपालिकाको रानीवासमा  प्रतियोगिता सञ्चालन हुदैछ ।

प्रतियोगिताका लागि अन्य सवै   तयारी पुरा भएको र केही प्राविधिक तयारी मात्र बाँकी रहेको समितिका अध्यक्ष चन्द्रकुमार गिरीले बताए । गरिमामय र प्रतिष्ठीत पदसंग जोडिएर खेलकुद प्रतियागिता हुदैछ अध्यक्ष गिरीले भने, रकम नै अभाव भयो   खेलकुदलाई प्राथमिकता नदिनुले यस्तो परिस्थिती आएको अध्यक्ष गिरीको बुझाई छ । प्रतियोगितामा सक्रिय रुपमा सहभागीता जनाउन उनले खेलाडीहरुलाई आग्रह समेत गरेका छन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागि चौकुने, बराहताल र सिम्ता गाउँपालिकाले ४०, लेकवेसी नगरपालिकाले ४० र  गुर्रभाकोट  भेरीगंगा नगरपालिकाले ६०/६० हजार रकम सहयोग गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले ४ लाख ७७ हजार बजेट दिएको छ भने वीरेन्द्रनगर नगरपालिकाले १ लाख ५१ हजार ७ सय २० रुपैयाँ उपलव्ध गराएको छ ।

प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका १ हजार २ सय खेलाडीले प्रतिस्प्रधा गर्नेछन् । समितिले दिएको जानकारी अनुसार उसु, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, कबड्डी र भलिवल गरी ६ खेलमा प्रतिस्प्रधा हुनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि १ सय २० जना प्राविधिक टिम परिचालन गरिनेछ । प्रतियोगिताको उद्घाटन  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गर्ने बताइएको छ । त्यस्तै, भौतिक योजना तथा  पुर्वाधार विकास मन्त्री खड्ग खत्रीको समेत विशेष उपस्थिती रहने आयोजकले जनाएको छ । खेल अवधीभर सुरक्षा र मेडीकल एवं प्राथमिक उपचारको व्यवस्था गरिनेछ । सो अवधीभर  चौविसै घण्टा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने  आयोजकले जनाएको छ ।

प्रत्यक विधाका खेलमा प्राप्त गर्ने स्वर्ण पदकका आधारमा फाइनल नतिजा र्सार्वजनिक गरी कप दिइने पत्रकार सम्मेलनममा जानकारी दिइएको छ । उसु र तेक्वान्दोमा ६स्वर्ण   ६ रजत र १२ काँस्य, कराँतेमा ८ स्वर्ण   ८ रजत र १६ काँस्य, एथलेटिक्समा ३८ स्वर्ण  ३८ रजत र ३८ काँस्य पदक दिइनेछ । त्यस्तै, कवड्डी र भलिवलमा १८ स्वर्ण  १८ रजत र १८ वटा काँस्य पदक दिइने बताइएको छ ।
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र सवै खेलाडी एवं खेलप्रेमीहरुलाई स्वागत गर्न आँफुहरु आतुर रहेको आयोजक जनता मा.वि. रानीवासका प्राधानाध्यापक विनोद यादवले बताउनु भएको छ ।