कमलबहादुर कठायत
सुर्खेत, १५ चैत ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने लगाम गाविसको भाइरल ज्वरो अझै नियन्त्रणमा आएको छैन । करिव एक महिनादेखि फैलिएको भाइरल ज्वरोले गाविसका अन्य वडाहरुमा फैलिन थालेको हो ।
डोटी र सुर्खेतको सिमानामा पर्ने लगाम गाविस–५ तालागाउँमा मात्र देखिएको भइरल ज्वरो पछिल्लो समय गाविसका अन्य वडाहरुमा समेत देखिन थालेको अर्जुन मेडिकल हलका सञ्चालक अर्जुन विकले जानकारी दिएका छन् ।
लगामको वडा नम्बर ३ र ६ वडामा भाइरल ज्वरोका विरामी बढ्दै गएको बताइएको छ । तालागाउँमा मात्र यस अघि दुइ जनाको मृत्यु भाइरल ज्वरोबाट नै भइसकेको छ ।
केही दिन यता अन्य वडाका स्थानीयबासीहरु समेत भाइरल ज्वरो संक्रमितका विरामी मेडिकलमा आउन थालेको अर्जुनको भनाई छ ।
लगामका स्थानीयबासी पूर्णबहादुर बुढामगर, रणबहादुर पौडेल भने भाइरलबाट गम्भिर विरामी भएको मेडिकल सञ्चालक अर्जुनको भनाई छ ।
गाविसको बाँसपानी स्वास्थ्य चौकीका अहेव सदरमुकाम वीरेन्द्रनगर आएकाले विरामीको उपचारको समस्या भएको स्थानीयको भनाई छ ।
तर स्थानीयले भने रोग पूर्ण रुपमा नियन्त्रण नआउँदै अहेव बाहिर बस्नु दुःखद् भन्दै आक्रोश व्यक्त गरेका छन् । भाइरलले महामारीको रुप लिने त्रासमा स्थानीय नागरिकमा छ ।
यता जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी बशन्तमान श्रेष्ठले यसबारेमा जानकारी नआएको बताएका छन् । उनले यसबारेमा बुझेर भाइरल ज्वरो देखिएमा तत्काल स्वास्थ्यको टोली पठाउने जानकारी दिए ।
साभारः अनलाईन सुर्खेत डट कम ।



Milan Shrestha । १५ चैत्र २०७२, सोमबार ११:०७ बजे