संचित कोष नियमावली पारित
४ बैशाख, सुर्खेत आज बसेको कर्णाली प्रदेशको मन्त्रीपरिषदको बैठकले संचित कोष संचालन नियमावली २०७५ पारित गर्दै विभिन्न पाँच वटा निर्णय गरेको छ ।
अब संचित कोष अर्थमन्त्रालयमा हुने भएकाले भैपरी आउने बाढीपहिरो, आगजनी हुँदा त्यति बेलामा तत्कालका लागि मन्त्रीपरिषदको बैठकबाट निर्णय गरेर कोष संचालन गर्ने सक्ने छ ।
यस्तै बैठकले प्रदेश स्तरका सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधि सम्वन्धि विधेयक २०७५ तर्जुमाको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्वन्धि व्यवस्था गर्न बनेको विधेयकको पनि तर्जुमाका लागि सुझावहरु सहित आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषद बैठकले कर्णाली प्रदेशका गाँउसभा र नगरसभाको कानुन निर्माण प्रक्रियाको सम्वन्धी विधेयक २०७५ तर्जुमा गर्न आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने पनि निर्णय गरेको छ ।
बैठकले कर्णाली प्रदेशको आकस्मिक कोष विधेयक २०७५को मस्यौदा प्रदेश सभामा पेश गर्न स्वीकृत गरेको छ ।



Prawash Kumar Shakya । ४ बैशाख २०७५, मंगलवार ०९:३५ बजे