
सुर्खेत, ७ बैशाख । जिल्लाको सवैभन्दा पुरानो वीरेन्द्रनगर–३ स्थित उत्तरगंगा जलेश्वरधामको संरक्षण पहल थालिएको छ । स्थानीय समाजसेवीहरुको अग्रसरतामा संरक्षणको पहल थालिएको हो । शुक्रवार वडा अध्यक्ष भूपेन्द्र खत्रीले एक कार्यक्रमका वीच धामको संरक्षणका लागि तारजाली लगाउने कामको शिलान्याससमेत गरेका छन् ।
धामको करिव ८ कठ्ठा क्षेत्रफलमा तारजाली लगाएर संरक्षणको पहल थालिएको निर्माण समितिका संयोजक श्यामकुमार भारतीले जनाए । १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उक्त कार्यमा समितिका पदाधिकारीहरुले एक लाखदेखि डेढ लाख रुपैयाँ सहयोग संकलन गरिसकेका छन् । आगामी असार महिनाभित्र तारजाली लगाउने काम सक्ने लक्ष्य राखिएको संयोजक भारतीले बताए ।
जलेश्वरधामको पानी र मन्दिरको संरक्षणका लागि तारजाली लगाउन लागिएको उनले जनाए । वडाअध्यक्ष खत्रीले पनि संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । शिलान्यास कार्यक्रममा समितिका अध्यक्ष पार्वती गिरी, धर्मराज गिरी, खगेन्द्र भारती, शेरबहादुर अधिकारी, भूपेन्द्रदेव गिरी (बहुदल), निर्मला पोख्रेल, नन्दा थापालगायतको उपस्थिति थियो ।
साभारः खबरइराअनलाइन
Prawash Kumar Shakya । ७ बैशाख २०७५, शुक्रबार १२:१२ बजे