
सरकारले विनाशकारी भूकम्प गएको एक वर्ष पुगेपछि पीडितहरुलाई घर बनाउनका लागि सहुलियत दरमा काठ दिने भएको छ।
भूकम्प पीडितको लागि काठ वितरणको काम आगामी वैशाख १२ गतेबाट शुरु हुने बन तथा भूसंरक्षण मन्त्रीले बीबीसीलाई बताएका छन्।
पीडितहरुले काठ बिक्रीमा करिब ९० प्रतिशत छुट पाउने भए पनि ढुवानी भने आफैँले व्यहोर्नुपर्ने अधिकारीहरुले बताएका छन्।
सरकारले पुसको पहिलो साताबाट पुनर्निर्माणको महाअभियान थाले पनि भूकम्प पीडितका घर बनाउन आवश्यक रकम देखि सामग्रीसम्मको अन्यौल कायमै देखिन्छ।
एकातिर गाविस सचिवको अभावमा धेरै भूकम्प प्रभावित जिल्लाहरुमा प्रारम्भिक काम नै रोकिएको छ भने, अर्कोतिर घर बनाउन अत्यावश्यक रहेको काठ वितरणका लागि मन्त्रालयले बल्ल कागजी काम पुरा गरेको छ।
भर्खरै नियमावली बनेपछि अब भूकम्प पीडितले कहिलेबाट काठ पाउलान्?
बनमन्त्री अग्नि सापकोटा भन्छन्, “भूकम्प गएको दिन पारेर वैशाख १२ गतेदेखि नै काठ वितरण कार्य प्रारम्भ गर्नेछौं। सवै तयारी पूरा भइसकेको छ । हामीले सम्वन्धित जिल्लाका अधिकारीहरुसंग गोष्ठी पनि गरिरहेका छौं।”
आलोचना
काठ वितरणका लागि आवश्यक नियम बनाउन लामो समय लगाएको भन्दै सरकारको ब्यापक आलोचना भइरहेको छ।
काठ वितरणसम्बन्धी निर्देशिका र कार्यविधि बनाउन ९ महिना समय लगाएको बन मन्त्रालयले त्यस्तो आलोचनाको भने खण्डन गरेको छ।
तर काठको काम घर बनाउन शुरु गरेको दोस्रो चरणमा मात्र हुने भन्दै पीडितलाई कुनै असर नपरेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले बताए।
उनले भने, “अहिले भूकम्प पीडितहरु परिचयपत्र लिएर घर बनाउन थालेको अवस्थामा पुगेको पनि छैनन्। हाम्रो उदेश्य काठकै कामले घर निर्माणको काम नरोकियोस् भन्ने हो। सवैले एकैपटक घर बनाउने पनि होइन। त्यसैले मलाई लाग्दैन की मन्त्रालयकै कारण घर निर्माणमा ढिलाई हुनेछ।”
भूकम्प पीडितहरुले सहुलियत दरमा ढिलै भए पनि काठ पाउन लागे पनि आफ्नो बास नजिकैको सामुदायिक बनबाट हुने ढुवानी खर्च उनीहरु आफैंले ब्यहोर्नुपर्नेछ।
काठ वितरण कार्य भने भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयोजकत्वमा गरिने बताइएको छ।
साभारः विविसी
Milan Shrestha । १५ चैत्र २०७२, सोमबार ०९:२७ बजे