बाँकेमा ६ जना यातायात व्यवसायी पक्राउ


 २१ वैशाख । सरकारले यातायात व्यवसायमा रहेको सिन्डिकेट हटाउने निर्णय बिरुद्ध आन्दोलनमा उत्रिएका बाँकेका ६ जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ ।

सिन्डिकेट हटाउने सरकारको निर्णय बिरुद्ध समिती र संघ आवद्व यातायात व्यवसायीले शुक्रबार आफ्ना गाडि सञ्चालन गरेका थिएनन् । पक्राउ पर्नेमा सनराइज यातायात समिती नेपालगन्जका उपाध्यक्ष प्रविन बिसी, महासचिव रमेश शाह, कर्मचारीद्वय नवराज शर्मा र होमबहादुर खड्का तथा सार्वजनिक भेरी यातायात समितीका सचिव रमेश बहादुर खत्री र कर्मचारी दीपक बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सार्वजनिक यातायातका साधनहरु चलाउन बन्द गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । अन्य समितीका पदाधिकारीहरुलाई पनी खोजिरहेको भन्दै उनले भेटाएमा पक्राउ गरिने बताए । गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएपछि बाँके प्रशासन पनी यातायात साधन नचलाउने व्यवसायी विरुद्व आक्रमक रुपमा प्रस्तुत भएको हो ।

माथिल्लो स्तरबाट निर्देशन आएलगत्तै प्रहरीले जिल्लामा रहेका संघ र समितीका कार्यालय तथा तिनका पदाधिकारीका घरमा छापा मारेको छ । यातायात व्यवसायीले आफ्ना सवारी साधन नचलाउदा बाँकेमा यात्रुहरुलाई भने सास्ती भएको छ ।

साभार :एबिसी अनलाईन