१९ जेठ, काठमाडौं । त्यसो त गिरानचौरमा कुनै चौर थिएन । थियो, त करिब ५ दर्जन घर भएको तामाङ वस्ती । त्यो पनि गत वैशाख १२ मा आएको भूकम्पले सो खण्डहरमा बदलिदियो ।
यतिबेला खण्डहरलाई नयाँ जीवन दिने अभियान सुरु भएको छ । अनलाइनखबरको टोली मंगलबार त्यहाँ पुग्दा ढुंगा पन्छाउने र जमिन सम्याउने काम जोडतोडले भइरहेको थियो । मानिसहरु तीनवटा ‘ब्लक’ मा बाँडिएर काम गरिरहेका थिए । भीर ताछ्नका लागि ल्याइएको डोजर भने ‘बिरामी’ भएर निर्माणस्थलमै सुतिरहेको थियो ।
एउटा ब्लकमा बेल्चा चलाइरहेको समूहभित्र दुई परिचित अनुहार थिए । उनै धुर्मुस-सुन्तली उर्फ सिताराम कट्टेल र कुञ्जना घिमिरे । बिहान पानी परे पनि दिउँसो बेस्सरी घाम चर्केको थियो । यहाँ न पानी पर्दा काम रोकिँदो रहेछ, न घाम चर्किँदा ।
एक छिनपछि कसैले सिटी फुक्यो र काम रोकियो । खाना खाने टाइम भएछ । ‘सिरियल चलाउन सजिलो कि बेल्चा चलाउन ?’ खाना खान बस्दै गर्दा कट्टेल दम्पत्तिलाई मैले सोधेँ ।
‘दुवै सजिलो’ श्रीमान कट्टेलले दहि भात मुछ्दै दहिच्यूरे जवाफ दिए, ‘दुवै गाह्रो पनि ।’
खाना खाइसकेर हामी माथ्लो कान्लातिर उक्लियौं ।
यस्तो छ डिजाइन
‘उ त्यो’ धुर्मुसले चोरी औंलाले देखाए, ‘डिलसम्म हाम्रो एरिया हो । यहाँ तीन ब्लक छन् । पहिलो ब्लकमा २६, दोस्रोमा १२ र तेस्रोमा २७ गरेर ६५ वटा घर बन्दैछन् । उ. त्यहाँनिर कम्युनिटी हल हुन्छ, चार-पाँच सय मान्छे अट्ने । हामीलाई सहयोग गर्ने सबै दाताहरुको विवरण सुनौलो अक्षरमा कम्युनिटी हलमा राखिनेछ ।
यी यहाँबाट २८ फिटको बाटो उ त्यहाँ हुँदै उ त्यता जान्छ । यी यहाँनिर पार्किङ, उ त्यहाँनेर भ्यू प्वाइन्ट । एउटा व्यवस्थित शहरमा हुनुपर्ने सबै गुणहरुले भरिपूर्ण हुनेछ यो बस्ती ।’
धुर्मुसका अनुसार यो वस्ती बालमैत्री र अपाङ्ग मैत्री पनि हुनेछ । यसअघि काभ्रेको पहरीवस्तीमा बनाएको एकिकृत नमूना वस्तीभन्दा फरक र ‘एड्भान्स’ हुने उनले छाति पिट्दै बताए ।
भिडियो
प्रत्येक ब्लकमा एउटा पाहुना घर र चिल्ड्रेन पार्क यस वस्तीका थप विशेषता हुन् । घरहरु एक-अर्कासँग जोडिएका हुने छैनन् । ६ वटा पिल्लरका चार कोठे भवनभित्र एउटा भान्साकोठा हुनेछ । भित्रै ट्वाइलेट-वाथरुम हुनेछन् । भर्याङ चढेर एक तल्लामाथि गएपछि बुईंँगल हुनेछ, जहाँ सरसामान राखिन्छ ।
वस्तीमा २८ फिटको मुलबाटो तथा १४ फुटे शाखा बाटो हुनेछ । वस्तीभित्र सजिलै दमकल, एम्बुलेन्स ओहोरदोहोर गर्न सक्छन् ।
तर, वस्तीमा पानी ल्याउन भने चुनौतिपूर्ण छ । निकै मुन्तिर रहेको सिन्धु खोलाबाट पानीमाथि ल्याउने योजना धुर्मुसको छ । त्यहाँ २५ वटा विजुलीका पोल राखेर एउटा ट्याङ्कीमा खसाउने र त्यसपछि फेरि माथि तान्ने उनले सुनाए । पानीको लागि मात्रै लाखौं लाग्ने अनुमान गरिएको छ ।
वस्ती क्लीन सिटीको अवधारणामा बन्दै गरेका प्रोजेक्ट कोअर्डिनेटर अर्जुन घिमिरेले बताए । उनी भन्छन्, ‘सम्पुर्ण सरकारी मापदण्डहरु पुरा गरेर हामी यो वस्ती बनाउँदैछौं ।’
ढुंगा-माटो यहीँको प्रयोग हुनेछ भने काठ जति सबै फर्निचरमा अर्डर गरिएको धुर्मुसले जानकारी दिए । घरहरु ब्लकले बन्ने छन् । एउटा पक्की घरमा जस्तै डण्डी, रोडा गिट्टी, बालुवा र जस्तापाता प्रयोग हुनेछ । ३०० बन्डल जस्तापाता, ३५ सय बोरा सिमेन्ट लाग्ने अनुमान गरिएको छ ।
यसरी हुँदैछ काम
तीनवटक ब्लकमा अलग-अलग टिमले काम गर्छ । तीनवटै टिममा एक जना टोली नेता छानिएका छन् । त्यहाँ बन्ने प्रत्येक घरका सम्भावित घरधनीहरुको परिवारलाई एक जनाले अनिवार्य श्रमदान गर्न उर्दी जारी गरिएको छ । कसैको परिवारबाट बिनाकारण अनुपस्थित भए एक हजार रुपैयाँ जरीवाना तिनुपर्ने नियम लगाइएको छ ।
तीन टिमलाई कसले छिटो गर्ने भनेर धुर्मुसले जोस्याइदिँदा रहेछन् । बिहानै टोली नेताले सिटी फुकेपछि गुरुरु निर्माणस्थलमा स्थानीयवासी ओइरिन्छन् र भटाभट काम गर्न थाल्छन् । उनीहरुलाई भ्याएसम्म निर्माण स्थलमै खटिएर साथ दिन्छन्, धुर्मुस-सुन्तलीले ।
यहाँको रुटिन अनुसार बिहान ६ बजे काम सुरु हुन्छ । साढे आठ बजे खाजा खाने विश्रम हुन्छ । २५ मिनेटको विश्रामपछि फेरि साढे ११ बजेसम्म निरन्तर काम हुन्छ । त्यसपछि खानाको लागि डेढ घन्टा ब्रेक हुन्छ । दिउँसो १ बजेदेखि रातिसम्म काम हुन्छ । राति कहिले सात कहिले ८ त कहिले १० बजेसम्म काम हुने गरेको धुर्मुसले सुनाए ।
१ करोड ३० लाख संकलन
करिब ५ करोडको अनुमानित लागतमा बन्ने यो वस्तीका लागि देश-विदेशबाट सहयोग आउने क्रम जारी छ । भूकम्प गएको एक वर्ष पुगेकै दिन गत १२ वैशाखमा शिलान्यास गरेयता सुरु भएको अभियानमा हालसम्म एक करोड ३० लाख जम्मा भएको सुन्तलीले बताइन् । उनी धुर्मुस-सुन्तली फाउन्डेसनकी कोषाध्यक्ष हुन् ।
‘काम सुरु गर्दा हाम्रो खातामा एक लाख ७४ हजार रुपैयाँ मात्रै थियो,’ उनले भनिन्, ‘छोटो समयमा धेरै नेपालीहरुले हामीलाई विश्वास गरेर रकम पठाउनुभएको छ ।’
सहयोग गर्न इच्छुकहरुको फोन उठाउन कट्टेल दम्पत्तिलाई भ्याई नभ्याई हुँदो रहेछ । हरेक फोनको घन्टीले उनीहरुलाई उत्साह थप्ने नै भयो । जस्तो, भर्खरै पनि श्रीमती कट्टेलको फोनको घन्टी बजेको छ । उनी उत्साहसाथ उठाउँछिन् । ‘मुसहर वस्तीबाट ?’ उताकाले के भने कुन्नी, उनी अचम्भित भइन्, ‘कति रे ?’
महोत्तरीको एउटा अति पीछडिएको मुसहर वस्ती, जहाँ धुर्मुस-सुन्तली पसेर परिवर्तन ल्याइदिएका थिए, त्यहीबाट एक पत्रकार एवम् सामाजिक अभियन्ताले फोन गरेका रहेछन् ।
मुसहर वस्तीका मानिसहरु पनि धुर्मुस सुन्तलीलार्इ सहयोग गर्न इच्छुक भएका छन् भन्ने खबर उनले सुनाएका रहेछन् । ‘अनि गाउँको हालखबर के छ ?’ उनले सोधिन् ।
उताकाले के भने कुन्नी, श्रीमती कट्टेलले लामै प्रवचन दिइन् । उनी भन्दै थिइन्, ‘अभिभावकहरुलाई सम्झाउनुस्, बालबालिका बीचमा स्कुल जान छाडे भने फेरि जाँदैनन् । मन्जेलाई बढिभन्दा बढि प्रोत्साहित गर्नुस् । गाउँमा केही समस्या आयो भने सम्वन्धित निकायहरुमा जानुस् । हाम्रो नाम लिँदा कतै काम बन्छ भने लिनुस् ।’
‘गाउँमा खाली हिन्दी च्यानल हेर्दा रहेछन् । नेपाली च्यानल हेर्ने प्रवन्ध मिलाउनुस् । त्यसो भयो भने केटाकेटीले नेपाली भाषा सिक्छन् ।’
‘मन्जे भनेको को हो ?’ फोन राखिसकेपछि मैले सोधेँ । ‘मुसहर गाउँको एक मात्र पढेको केटो हो । अहिले ११ कक्षामा पढ्छ । पहिले उ घरभित्र पढेर बस्दा गाउँका केटाकेटीले जिस्क्याएर उल्लिबिल्ली पार्दा रहेछन् । अहिले उ गाउँकै हिरो भएको छ । सबैले आदर गर्न थालेका छन् ।’
फेरि एकीकृत वस्तीकै कुरा
गत वैशाख २९ बाट गिरान चौरमा एकीकृत वस्ती बसाल्ने कार्य धुर्मुस-सुन्तलीले सुरु गरेका हुन् । २० दिनसम्म त्यहाँ रहेका घरका भग्नावशेषहरुलाई पन्छाउने कार्य अन्तिम चरणमा पुगेको छ । त्यहाँ बनेका टहराहरु पनि निर्माण क्षेत्र वरपर सारिसकिएका छन् ।
अबको केही दिन भित्रैमा तीनवटै ब्लकमा जग हाल्ने काम सुरु हुने धुर्मुसले बताए । ‘काम रफ्तारमा अघि बढिरहेको छ, अब झन् रफ्तारका साथ अघि बढ्छ,’ धुर्मुसले भने ।
स्थानीयवासी दंग
धुर्मुस-सुन्तलीको आगमनले यहाँका जनतामा नयाँ उर्जा सञ्चार भएको छ ।
भूकम्प आएपछि टहरामा गुजारा गरिरहेका सोझा तामाङहरु नयाँ घरमा बस्न पाइने भएकाले मख्ख परेका छन् । ‘उहाँहरु त हाम्रो लागि भगवान जस्तै भएर आउनुभो,’ स्थानीय वृद्धा माया तामाङ भन्छिन्, ‘हामीलाई त एकैपटक चारवटा दशैं आएजस्तो भएको छ ।’
आफ्नो लागि घर बन्ने भनेर स्थानीयबासी आफैं काममा उत्साहित बनेको सुन्तलीले बताइन् । उनले भनिन्, ‘उहाँहरुको अनुहारमा देखिने खुशी र उत्साहनले हामीलाई काम गर्न प्रेरणा मिल्छ ।’
पर्यटकीय गन्तव्य बन्ने विश्वास
यहाँका स्थानीयवासीको आयआर्जनको प्रमुख स्रोत कृषि नै हो । यद्यपि, यहाँ सिचाइँका लागि पानीको समस्या छ । सिन्धुखोलाको पानी माथि ल्याएपछि सिचाइ सविधासमेत पुर्याउन सकिने धुर्मुले बताएका छन् ।
नयाँ वस्तीलाई सम्भावित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी डिजाइन गरिएको छ । बस्ति बसेपछि स्थानीयवासीको वैकल्पिक आम्दानीको स्रोतका रुपमा पर्यटनलाई पनि अपनाउन सकिने धुर्मुसले बताए ।
बधाई र शुभकामनाको ओइरो
धुर्मुस र सुन्तली मोबाइलमा अचेल निरन्तर घन्टी बजिरहन्छ । जसले फोन गरेको भए पनि उनीहरुलाई नयाँ वस्ती निर्माण गर्न लागेकोमा प्रोत्साहन दिन छुटाउँदैनन् ।
यसबाहेक फेसबुकमा त उनीहरुका बारेमा कति पोष्टहरु हुन्छन् कुनै हिसाब छैन । यी सबैलाई यो दम्पत्तिले आफ्नो उर्जास्रोतका रुपमा लिएको छ । ‘यति धेरै प्रशंसाका शब्दहरु व्यक्त गर्नुहुन्छ कि कहिलेकार्हीँ त आफैं भावविव्हल बन्छौं,’ धुर्मुसले भने ।
आगामी घटनस्थापनामा घरभित्रै जमरा रोप्ने गरी स्थानीयीलाई वस्ती हस्तान्तरण गर्ने धुर्मुस-सुन्तलीको लक्ष्य छ ।
साभारः अनलाइन खबर










Prawash Kumar Shakya । १९ जेष्ठ २०७३, बुधबार १४:२५ बजे