सुर्खेतदेखि नयाँदिल्लीसम्म बस सञ्चालन हुने


सुर्खेत, २७ वैशाख । मध्यपश्चिम बस व्यवसाय समितिले पहिलोपटक सुर्खेतदेखि नयाँदिल्लीसम्मका लागि सिधा रारा एसि बस सेवा सञ्चालन गर्न लागेको समितिका सचिब नारायण चपाईले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलोपटक जेठ १८ गतेबाट सुर्खेतदेखि भारतको नयाँदिल्लीसम्मका लागि बस सञ्चालन हुनेछ ।

समितिले हप्ताको २ दिन आईतवार र बुधबार सुर्खेतबाट भारतको दिल्लीका लागि बस छुट्ने र भारतको दिल्लीबाट मंगलबार र शुक्रबार बस छुट्ने समितिले जनाएको छ । यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवातजावत गर्ने यात्रुलाई सहजरुपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बस सेवा सुरु गर्न थालेको चपाईले बताएका छन् ।

सुर्खेतदेखि रुपैडिया, बरेली, गाजियाबाद हुँदै भारतको राजधानी नयाँदिल्लीसम्मका लागि नेपाली रु दुई हजार चार सय रुपैयाँ भाडा तोकिएको ब्यबसायी दुर्गा ज्ञवालीले बताए ।