आर्थिक वर्ष ०७३/०७४ को बजेटमा अर्थ मन्त्री विष्णु पौडेलले सूचना तथा सञ्चार क्षेत्रमा ‘फोर जी’ सेवा प्रारम्भ गरिने घोषणा गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले पनि यस आर्थिक वर्ष भित्रमा सेवा सुरु गर्ने जनाएको छ। यसका लागि छिट्टै नै सम्बन्धित समितिसँग छलफल सुरु गरी गृहकार्य प्रक्रिया अघि बढाउने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सेतोपाटीलाई जानकारी दिए। विशेष गरी सहरी क्षेत्रमा इन्टरनेटको प्रयोग बढी हुने भएका कारण सुरुमा काठमाडौं उपत्यका र उपमहानगरपालिका क्षेत्रलाई सरकारले प्राथमिकता दिएको प्रवक्ता अर्यालको भनाई छ।
‘हामीले देशव्यापी रुपमा फोर जी सेवा विस्तार गर्ने लक्ष्य लिएका छौँ,’ अर्यालले भने, ‘यो सेवा सहरमा मात्र सीमित गरेका छैनौँ।’ सहरी क्षेत्रमा इन्टरनेटको माग र प्रयोग बढी भएकाले सुरुवात सहरी क्षेत्रबाटै हुने उनले बताए। ‘क्रमबद्ध रुपमा सेवालाई देशव्यापी रुपमा अघि बढाउँछौँ’ उनले भने।
‘फोर जी’ सेवा विस्तार प्रक्रिया दुईवटा चरणबाट अघि सारिएको छ। जसमध्ये हाल एउटालाई मात्र अघि बढाउने प्रधिकरणले जनाएको छ। पहिलो जीएसएम इन्टरनेट सेवालाई सिधै ‘फोरजी’ एलटीईमा लैजाने र अर्को नयाँ फ्रिक्वेन्सी दिने। तर यी दुई मध्ये कुन चरण अघि बढाउने भन्ने विषयमा छलफलपछि मात्र जानकारी हुने उनले बताए।
सेवा विस्तार प्रक्रिया अघि बढाएपछि सेवा प्रदायक कम्पनीको आ–आफ्नै प्रक्रिया हुने भएका कारण कुन सेवा प्रदायक कम्पनीले कति समय लगाउँछ भन्ने कुराको जानकारी पनि छलफलपछि मात्र थाहा हुने प्रधिकरणको भनाइ छ।
‘फोर जी’ सेवा विस्तार गर्दा केही चुनौति पनि छन्। यसको मूल्यदेखि लिएर उपकरण विस्तारसम्म धेरै चुनौतिहरु हुने प्रधिकरणले जनाएको छ। प्रयोगकर्तालाई ‘टुजी’कै शुल्कमा फोर जी सेवा उपलब्ध गराउने वा यसका लागि छुट्टै शुल्क लागू गरिने भन्ने विषय पनि छलफलका क्रममा रहेको अर्यालले बताए।
उनका अनुसार नेपालमा शिक्षा, कृषि, स्वास्थ्य लगायत सम्बद्ध एप्सले यस सेवालाई सपोर्ट गर्ने वा नगर्ने भन्ने विषय चुनौति पूर्ण हुनसक्ने छन्। यसका लागि सबैले उपयोग गर्न मिल्ने एप्स ल्याउनु पर्ने उनले बताए।
‘फोर जी’ सेवा प्रयोगकर्तालाई सुहाउँदो मूल्य र सहज रुपमा उपलब्ध गराउने प्राधिकरणले जनाएको छ। सम्बद्ध पक्षसँगको छलफलपछि फोरजी सेवा विस्तार प्रक्रिया तिब्र रुपमा अघि बढाइने प्रवक्ता अर्यालले बताए।
हाल नेपालका ७५ वटै जिल्लामा मोबाइल इन्टरनेटको पहुँच छ। यी जिल्ला मध्ये करिब ६० भन्दा बढी जिल्लामा थ्रीजी इन्टरनेटको पहुँच भएको प्रधिकरणले जनाएको छ।
फोरजी सेवा विस्तार गर्ने क्रममा ‘टुजी’ सेवा भएका जिल्लामा सिधै फोरजी सेवा बनाउने योजना भएको अर्यालले बताए। नेपालमा सन् २००७ मा थ्रीजी सेवा सुरु गरिएको थियो। सबैभन्दा पहिला नेपाल टेलिकमले ‘थ्रीजी’ सेवा सुरु गरेको थियो।
साभारः सेतोपाटी अनलाइन



Prawash Kumar Shakya । २० जेष्ठ २०७३, बिहीबार ०३:१५ बजे