एउटा खुट्टाको बलमा नाच्छिन् उनी


काठमाडौं जेठ  २० – उद्घोषकले नाम बोलाउँदा एकाएक झ्याप्प बत्ति निभ्यो । प्रस्तुति हेर्न आएका सबै दर्शकहरुको गाईंगुर्इं आवाजले हल गुन्जन थाल्यो । यत्तिकैमा स्टेजको पर्दा बिस्तारै खुल्यो, स्टेजमा उभिएकी एक बालिकालाई देखेर हलमा सन्नाटा छायो ।

रातो रंगको चोली र रातै फरियामा सजिएकी रुक्सा थापालाई देखेर सबै अचम्म परे । उनी बैशाखी छोडेर एक खुट्टाले नाच्न तयार भएकी थिइन् । धादिङ घर भएकी १२ वर्षकी उनी तीन वर्ष अघिसम्म ठमठम हिँड्न सक्थिन् । तर २०६९ साल चैत पाँच गते बिहानदेखि उनको अवस्था नै फेरियो । उनी पहिलेकी जस्ती भइनन् । हिँडडुल गर्न पनि साहरा चाहिने भयो । यो तीन वर्ष अगाडिको कुरा हो । उनी सधैंजसो क्यानमा दूध बोकेर बेंसीतिर झरिन् । ‘म डेरीमा दूध खन्याएर घर फर्किदै थिए, बाटोको छेउ हिँड्दै गर्दा एक्कासी ठूलो गाडीले हान्यो’ उनले त्यो कहालीलाग्दो घटना सम्झिइन् । उनी बाटोमा पछारिइन् । गाडीवाला उनलाई उठाउन छोडेर उल्टै भाग्यो ।

बाटोमा लम्पसार परेकी थापालाई हिँडिरहेका एक बटुवाले छेउमा राखे र आफन्तलाई खबर गरिदिए । बाटो छेउमा सुतिरहेकी थापालाई सबैले आफुलाई घेरेको देखेपछि उठ्न मन लाग्यो तर सकिनन् । ‘मलाई सबैले घेरेको देखेर उठ्न खोजेको त देब्रे पट्टिको हात र खुट्टा नै रहेनछ’ उनले भनिन् ।

परिवारले उनलाई हत्तपत्त काठमाडौंको बी एण्ड बी अस्पतालमा ल्याए । भागेको गाडीवालाई काकाले पच्छ्याएर भेट्याउनु भएछ । उपचार खर्चको लागि भनेर सात लाख रुपैयाँ गाडीले दियो । ‘म यहाँ २७ दिनसम्म बसे’ रुक्साले भनिन्, ‘विद्यालयको परीक्षा पनि अस्पतालबाट नै दिए, रिजल्टमा त तेस्रो भएछु ।’

२७ दिनको उपचारपछि उनी घर गइन् । डाक्टरले अब ठीक भयो भनेर डिस्चार्ज त गरिदिए तर घर पुगेपछि उनलाई लाग्यो भयो सबै थोक बिग्रिएछ । ‘पहिलाको जस्तो केही भएन, म एक्लै केही गर्न नसक्ने भएछु’ उनले भनिन् ।

दुर्घटना पछि उनी विद्यालय जान सकिनन् । हुन त घरपरिवार र वरपरका सबैले उनलाई धेरै माया गरेका छन् । दिदीबहिनीले हिँड्नलाई पनि सहयोग गरे, तर उनलाई विद्यालय लैजानलाई भने समस्या भयो । ‘विद्यालय घरबाट टाढा भएकोले म जान सकिन’, उनी भन्छिन्, ‘लाने ल्याउने समस्या भएपछि म पाँच महिना विद्यालय गइन ।’

सामान्य परिवारमा जन्मेकी थापाका परिवार किसान हुन् । खेतीकिसानी गरेर बल्ल बल्ल घर चलाइरहेका थापा परिवारलाई छोरीको अवस्थाले धेरै पीडा थपिदिएको छ । ‘खेती गरी चार सन्तान पढाउँदै थिएँ, जसोतसो चलेको थियो तर अब त के गर्नु खोई ?’ रुक्साका बाबा राजु थापा भन्नुहुन्छ, ‘कुटो कोदालो नगरे खान लाउन पुग्दैन, यसलाई हेर्नलाई पनि साथी चाहियो ।’

थापालाई विद्यालय जान समस्या भएपछि स्कूल बसले ल्याउने लैजाने गरेको बैरेनी – ८ गल्छि धादिङको सक्सेस एकेडेमी जान थालिन् । विद्यालयको बसले ल्याउने लाने गरेपछि, विद्यालय जान अनि सजिलो भएको छ । अहिले उनी ४ मा पढ्दै छिन् ।

अब त उनलाई बैशाखीको बानी परेको छ । ‘सुरुमा धेरै गार्‍हो भएको थियो, कतिपल्ट एक्लै हिँड्न खोज्दा लडें पनि’ पहिलेको दिन सम्झँदै उनले भनिन्, ‘स्कूल बसबाट ओर्लंदा नक्कली खुट्टाले भर नगर्दा लडेको कहिल्यै बिर्सन्न ।’ उनलाई नाच्न र गीत गाउन असाध्यै मन लाग्छ । त्यसैले एकै खुट्टाको बलमा भएपनि उनी नाच्ने गर्छिन् । देब्रे हात कुहिनाभन्दा तल नभएपनि गीतको तालमा हल्लाउने गर्छिन् । ‘मैले स्टेजमा गएर अहिलेसम्म तीनवटा गीतमा नाचें’ हाँस्दै उनले भनिन्, ‘गीत गाउँदा चाहिँ सुर ताल अलि बिग्रन्छ ।’

ठूलो हुँदै आएपछि आफ्नो अवस्था देखेर बेलाबेलामा उनलाई रुन पनि मन लाग्छ । विद्यालय र परिवारमा सबैको माया पाएपनि बाटोमा हिँड्दा ससाना बालबालिकाले उनलाई जिस्क्याउँछन् । ‘बाटोमा कहिलेकाहीँ हिँड्दै गर्दा बच्चाहरुले यो दिदी त कस्ता रहेछन् भन्दा मनै चसक्क हुन्छ’ निन्याउरो अनुहार लगाएर उनी भन्छिन, ‘हात नभएकी दिदी भनेको आवाज काममा गुन्जिरहन्छ, अनि एक्लै बसेर बेलाबेलामा रुने गर्छु ।’

अहिलेसम्म सबैको माया पाइरहेकी उनलाई पछि के होला भन्ने लाग्छ । सधैँ माया गर्ने आमाबाबु र दिदी बहिनी सधैँ होलान् भन्न सकिन्न । त्यसमाथि पनि बेलाबेला घाउ दुख्दा के गर्ने होला भन्ने चिन्ताले पनि सताउँछ ।

उनले ठूलो भएपछि आफूजस्तै अपाङ्गता भएकालाई सहयोग गर्ने सपना देखेकी छन् । अहिले त विद्यालयले पढ्नलाई अलि सहयोग गरेको छ । बुवाआमाले कमाएको पैसाले खान लाउन नै ठिक्क भएको बेलामा उनको भविष्यको बारेमा सोच्दा बाबुलाई मन अमिलो भएर आउँछ । ‘हामी छइन्जेल त जसोतसो हेरौंला, हामी नहुँदा के गर्ली !’ लामो सुस्केरामा राजु भन्नुहुन्छ, ‘राम्रोसँग पढाउन पाए त पछि आफैले के गर्ली कि ?’

सबैको माया र सहयोगले आजसम्मका दिनहरु त सहजै अगाडि बढे तर जीवनको संघर्ष अझै बाँकी छन् । उमेर बढेसँगै बढ्दै गएका जीवनका कठिनाइहरुसँग लड्नलाई उनको एउटा खुट्टाले कत्तिको साथ देला ? कति अगाडिसम्म बढ्ला भन्न सकिन्न । दुर्घटना पछि राखेका उनका नक्कली खुट्टा छोटा भएका छन्, त्यसैले उनी बैसाखीकै साहारामा अगाडि बढिरहेकी छन् ।

साभारः उज्यालो अनलाइन