नेपाल-भारत: ‘असोजको सुरुसम्ममा सबै मुद्दा सम्बोधन’


नेपाल र भारतले हल हुन बाँकी रहेका सबै द्विपक्षीय मामिला आगामी असोजको पहिलो सातासम्म सम्बोधन गर्न सहमति जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय भ्रमणको अन्तिम दिन शनिवार जारी संयुक्त वक्तव्यमा सन् २०१८ को सेप्टेम्बरसम्मको समयसीमाभित्र काम गर्न सम्बन्धित अधकरीहरूलाई निर्देशन दिइएको जनाइएको हो।

त्यसअघि शुक्रवारको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सेप्टेम्बर १९ अर्थात् असोज ३ भित्र काम पूरा गर्न परराष्ट्रसचिवहरूलाई भनिएको बताएका थिए।

नेपाल-भारतबीच हल हुन बाँकी रहेका विषय भनिए पनि कुन-कुन भनेर संयुक्त वक्तव्यमा उल्लेख गरिएको छैन।

पत्रकार सम्मेलनमा भने ओलीले जलमार्ग, रेलमार्ग, व्यापार, सन्धिसम्झौता समीक्षा जस्ता विषयतर्फ इङ्गित गरेका थिए।

त्यसक्रममा उनले प्रतिबन्धित भारतीय नोट सटहीबारे भारतीय प्रधानमन्त्रीलाई आग्रह गरिएको बताएका थिए।

तर उक्त विषय संयुक्त वक्तव्यमा परेन।

नरेन्द्र मोदी

हवाई मार्ग

नेपालले लामो समययता उठाउँदै आएको थप हवाई मार्गबारे पनि यसपटक भारतीय पक्ष लचिलो बनेको जस्तो देखिन्छ।

दुवै प्रधानमन्त्रीले त्यसबारे छलफल गर्न प्राविधिक टोलीहरूलाई निर्देशन दिएको संयुक्त वक्तव्यमा उल्लेख छ।

चार वर्षअघि मोदी नेपाल भ्रमणमा आउँदा पनि नेपालले अतिरिक्त हवाई मार्गका लागि आग्रह गरेको थियो।

त्यतिबेला जनकपुर, भैरहवा र नेपालगञ्ज हुँदै भित्रिने वा बाहिरिने मार्गका लागि नेपाली पक्षले प्रस्ताव गरेको थियो।

तर भारतीय पक्षले त्यसबारे सकारात्मक प्रतिक्रिया दिएको छैन।

ऐतिहासिक

भ्रमणको अन्त्यमा ट्वीट गर्दै मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहासिक भएको टिप्पणी गरेका छन्।

उनले आफ्नो भ्रमणमा नेपाली जनताले आत्मीयता दर्शाएको भन्दै खुशी प्रकट गरेका छन्।

तर मोदीको आगमन आसपास नाकाबन्दीलाई लिएर सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएका थिए।

उनले माफी माग्नुपर्नेसम्मका आशय पनि व्यक्त भएका थिए।

विविसीबाट