असारे विकास सुर्खेतवाट फिर्ता, दैलेखमा भने रातारात हुदै


P1080908-560x420सुर्खेत, २६ असार । सुर्खेतका ३ वटा सडकका लागि आएको रकम खर्च गर्ने प्रक्रियामा राजनीतिक दलहरुवीच कुरा निमल्दा फिर्ता भएको छ । स्थानीय विकास मन्त्रालयले सुर्खेत उपत्यका चक्रपथ, गढी लेखगाउँ धनीगाड कल्याणकाँध सडक र बावियाचौर भत्तडी जंगलाघाट सडकका लागि ४५ लाखका दरले १ करोड ३५ लाख बजेट अपर्झट पठाएको थियो । तर खर्च गर्ने प्रक्रियामा दलहरुको कुरा नमिलेपछि रकम फिर्ता भएको अने ।

मन्त्रालयले असार १५ गते अख्तियारी पत्र पठाएपछि खर्च गर्ने वा नगर्ने विषयमा दलहरुबीच विवाद भएको थियो । मन्त्रालयले पत्रमार्फत् जिविसलाई प्रचलित कानून र तोकिएको मापदण्ड अनुसार कार्य सम्पन्न गरी बिल भरपाई पेश गर्न निर्देशन दिएको थियो ।

पत्र प्राप्त भएको भोलिपल्टदेखि जिल्ला विकास समितिले सर्वदलीय बैठक बोलाएर बजेट खर्च गर्न प्रस्ताव गरेको थियो ।
कांगे्रसले पुरानै समितिमार्फत् काम तत्काल थाल्नुपर्ने, एमालेले निर्णय प्रक्रियामै सहभागी नहुने र माओवादी केन्द्रले बजेट खर्च गर्नुपर्ने धारणा राखेपछि जिविस निष्कर्शमा पुग्न नसकेको बताएको छ । अधिकांश पुराना समितिमा कांगे्रस निकटका पदाधिकारी छन् ।

कांगे्रस र राप्रपा नेपालले बजेट फिर्ता पठाउन नहुने धारणा राखेका छन् । दलहरु नै विभाजित भएपछि कामै हुन नसकी रकम फिर्ता भएको जिविसले जनाएको छ ।
जिल्ला विकास समितिले दलहरुवीच सहमति गर्न औपचारिक र अनौपचारिक गरी ६ पटक बैठक बसालेको थियो । तर खर्च गर्ने प्रक्रियामा सहमति नभएपछि जिविस एक्लै काम गर्ने जोखिम लिन सकेन बजेट फिर्ता भयो ।
स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले दलहरुवीचको बेमेलका कारण विकासका लागि आएको रकम फिर्ता भएको वताउनु भयो ।

उहाँले सहमति जुटाउन जिविसले हदैसम्मको प्रयास गरेपनि सफल हुन नसकेको दावी गर्नुभयो । तर दलहरुले भने जिविसले पनि ठोस निर्णय दिन नसक्दा विकासको लागि आएको रकम फिर्ता भएको उल्लेख गरेका छन ।
उनीहरुले जिविसले पनि रकम खर्च गर्ने सम्वन्धमा कुनै विकल्प दिन नसकेको आरोप लगाएका छन । आफनो निर्णय नदिने अनि दलहरुकै निर्णय कुर्दाकुर्दै म्याद गुजार्ने रणनीतिमा जिविस लागेको गुनासो गरेका छन । बाहिर सहमतिको रटान लगाएपनि दलहरुको आ—आफ्नै स्वार्थले बजेट फिर्ता भएको जिविसले जनाएको छ ।
दैलेखमा रातारात खर्चिदै
दैलेख जिविसले पनि २ करोड ३० लाख रुपैया रातारात सडक निर्माण तथा मर्मत सुधारमा खर्चिदै छ । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले आफ्नो गृहजिल्लामा रकमान्तरबाट प्राप्त बजेट पठाएको वताएको छ ।
जिल्लाले पाएको बजेट फिर्ता नजाने गरी रातारात भएपनि काम सक्नुपर्ने ठूला पार्टीका नेताहरुको जोड छ । साना दलको भने विरोध छ । ती पार्टीले जिविस, मन्त्रालयलाई ज्ञापनपत्रमार्फत तत्काल रोक्न आग्रह गरेपनि जिविसले सडक निर्मँण कार्य रोकेको छैन् ।

सर्भेका लागि प्राविधिकलाई फिल्डमा खटाइएको दैलेख जिविसले जनायो । दैलेखबजार–नौमुले–कालिका हुदै जाजरकोट (जुनी) सडकमा ५० लाख, नौमुले–रापट– द्वारीमा ४५ लाख, नौमुले–द्वारीमा ४५ लाख, महावु–डिल्लीकोट–कालीकोट जुम्ला सडकमा ४५ लाख र माथिल्लो डुगेश्वर–ब्यूराखेत– लालीका“डामा ४५ लाख नामाकरण गरेरै मन्त्रालयले कार्यादेश पठाएको हो । हाल सबै खण्डमा रातीसम्म डोजर लगाइएर सडक निर्माण गरिदैछ ।
स्थानीय विकास अधिकारी हरि प्याकुरेलले कार्य प्रगतिका आधारमा मन्त्रालयसंग भुक्तानी मागिने बताउनु भयो । ‘तोकिएको बजेट अनुसार काम हुने अवस्था छैन्’ उहाँले भन्नुभयो, जति सकिन्छ त्यति काम गर्ने हो ।’

नेकपा क्रान्तिकारी माओवादी, नेमकिपा, जनमोर्चा लगायतका साना दलले स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि ०६९ विपरित मन्त्रालयबाटै किटान गरी आएकोमा आपत्ति जनाएका छन् ।

साभारः राराखबर अनलाइन