
१५ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको दिगो आर्थिक समृद्धिको आधार कृषि भएको स्पष्ट पार्नुभएको छ । आज (आईतबार) वीरेन्द्रनगरमा अखिल नेपाल किसान महासङ्घ जिल्ला कमिटी सुर्खेतले आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं, तर त्यसका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास अपरिहार्य छ ।”
उहाँले कर्णालीको भौगोलिक विविधता र प्राकृतिक सम्पदाले विशेष कृषि उत्पादनको अपार सम्भावना बोकेको भन्दै आधुनिक, वैज्ञानिक र व्यावसायिक प्रणालीमा आधारित कृषि प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । “खेतीपाती अब केवल पेट पाल्ने माध्यम होइन, आम्दानी र रोजगारी सिर्जना गर्ने व्यवसाय हो । अब खेतीलाई पेशा र प्रविधिसँग जोडेर अघि बढ्नुपर्छ।” मुख्यमन्त्री कँडेलले भन्नुभयो । उहाँका अनुसार प्रदेश सरकारले कृषक पञ्जिकरण, कृषि सहुलियत ऋण, गुणस्तरीय बीउ र मल वितरण, सीपमूलक तालिम र सिँचाइ पूर्वाधार विस्तार जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिएको छ ।
कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कृषि प्राविधिक, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। कर्णाली प्रदेशमा कृषि क्षेत्रमा लगानी, नवीनतम प्रविधिको प्रयोग, र किसानमैत्री नीतिहरूको कार्यान्वयनमार्फत समृद्धिको सपना साकार पार्न सकिने विश्वास मुख्यमन्त्री कँडेलले व्यक्त गर्नुभयो ।
Prawash Kumar Shakya । १५ असार २०८२, आईतवार १३:३९ बजे