कर्णाली प्रदेश : वार्षिक पाँच अर्ब बढीको इन्धन खपत


 

 

काठमाडौ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा वार्षिक पाँच अर्ब १९ करोड बढीको डिजल, पेट्रोल मट्टी तेल र हवाई इन्धन लगायतको इन्धन खपत हुने गरेको छ । नेपालगञ्जको राँझास्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले दिएको जानकारी अनुसार कर्णाली प्रदेशका साथै बाँकेर बर्दिया जिल्लामा गरी गत आर्थिक वर्षमा पाँच अर्ब १९ करोड रुपैयाँ बराबरको इन्धन खपत भएको छ ।

आयल निगमको तत्कालिन क्षेत्रीय कार्यालयका अनुसार तत्कालिन मध्यपश्चिमको प्रमुख व्यापारिक केन्द्र बाँकेमा सबैभन्दा बढी दुई अर्ब ४४ करोड ८४ लाख ६३ हजार तीन सय ८९ रुपैयाँको इन्धन खपत भएको थियो भने बर्दियामा एक अर्ब चार करोड ९५ लाख पाँच हजार आठ सय २० रुपैयाँको इन्धन खपत भएको छ । कर्णाली प्रदशेको राजधानी सुर्खेतमा करिब एक अर्बको इन्धन खपत भइरहेको छ । पछिल्लो समय सडक सन्जालसँग कर्णालीका विभिन्न दुर्गम जिल्लाहरू जोडिएसँगै बढेको सवारी साधानले इन्धनको खपत बढ्दैजान थालेको हो ।

विगतमा थोरै ढ्वानी हुने कर्णालीका जुम्ला, कालिकोट लगायतका जिल्लामा पनि केही वर्ष यता धेरै इन्धन जान थालेको निगमले जानकारी दिएको छ । बिशेषगरी बाँके, बर्दिया, सुर्खेत, दैलेख जिल्लामा बढी इन्धन ढुवानी हुने गरेको छ । यी जिल्लामा हिमाल तथा पहाडबाट बसाई सराई गरी आउनेको सङ्ख्या बढेसँगै सवारी साधनका प्रयोगकर्ताको पनि उत्तिकै सङ्ख्या बढेको छ ।

यस्तै पछिल्लो समय नेपालगञ्ज, सुर्खेत लगायतका विमानस्थलबाट पनि नियमित र धेरै उडान हुन थालेको कारण पनि इन्धनको खपत बर्से्नि बढिरहेको सुर्खेत स्थित आयल निगमले जनाएको छ । सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोटमा विकास निर्माण र निजी तथा भाडाका सवारी साधन बढेसँगै वार्षिक इन्धन खपतको मात्रा बढेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

सुर्खेत जिल्लामा राष्ट्रिय गौरवको भेरी बबई सिंचाई आयोजना लगायत अन्य सानाठूला विकास निर्माणका थुप्रै आयोजनाहरू सञ्चालनमा आएपछि इन्धनको खपत बढ्दै गएको हो । सिचाई आयोजना, धुलियाविट वीरैन्द्रनगर फोर लेन सडक, छिन्चु दाङ राजमार्ग जस्ता ठुला आयोजनाका निर्माण कार्यले गति लिएसँगै इन्धनको खपत बढ्दै गएको आयल निगमको निगमले जनाएको छ । सञ्चारपाटीबाट