२३ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको र्याकेटको अनुसन्धान ठूला ‘माछा’ नजिक पुगेको बताएका छन् ।
प्रकरणमा पहिले झैँ ठूला माछाहरु पक्राउ नपर्ने आशंका व्यक्त भइरहेका वेला थापाले साढे ३३ केजी सुन गायब प्रकरणबाट सुरु भएको अनुसन्धान ठूला माछाको नजिक पुगेको दाबी गरेका हुन् ।
गृहमन्त्री थापाले मंगलबार पनि गोरेका एक सहयोगी पक्राउ परेको भन्दै माछा मार्ने क्रम जारी रहेको बताएका छन् । उनले भने, ‘हिजो पनि एउटा माछा परेको छ । माछा मार्ने क्रम जारी छ ।’
‘सुरुमा भुरा माछाहरु समातिए । त्यसपछि मझौला समातिएका छन्’, उनले भने, ‘माछा मार्न क्रम जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’
प्रकरणमा उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धान गर्न गएको प्रहरी टोलीका अधिकारीहरुविरुद्ध नै तस्करलाई सघाएको आरोप छ ।
तत्कालिन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायत अहिले पुर्पक्षका लागि थुनामा छन् ।
घटनाको छानबिन गर्न गठिन समितिले त्रुटिपूर्ण अनुसन्धान गरेर महाशाखाका अधिकारीलाई फसाएको भन्दै ३ पूर्व प्रहरी अधिकारीहरुले टिप्पणी गरेका थिए । यसलाई गृहमन्त्रीले छानबिनलाई प्रभाव पार्ने र तस्करलाई संरक्षण गर्ने प्रयत्नको रुपमा लिएको बताएका छन् ।
‘यो कुराले हाम्रो अनुसन्धान सही दिशामा छ भन्ने पुष्टि भएको छ’, थापाले भने, ‘अनुसन्धान जति नजिक पुग्दैछ, त्यति ठूला माछाहरु छट्पटाइरहेका छन् ।’
प्रकरणको अनुसन्धान गर्न गठिन समितिले जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता गर्दा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ को समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो ।
थापाले सुन तस्करलाई बचाउन धेरैतिरबाट धेरै शक्ति लागिपरेको भन्दै उनले सुन काण्डको अनुसन्धान जोखिमपूर्ण रहेको बताए । ‘हामी अनेक जोखिम मोल्दै अघि बढेका छौं । हामीले हचुनाको तालमा उठाएको कदम होइन’, उनले थपे, ‘तथ्यको आधारमा अनुसन्धान जारी छ ।’
अनलाइनखबरबाट



Milan Shrestha । २३ जेष्ठ २०७५, बुधबार १०:०२ बजे