के बौद्ध सम्मेलनमा नेपाल आउलान्


वैशाख २०, २०७३- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ पहिलो साता नेपाल भ्रमण गर्न

सक्ने संकेत पाएपछि सरकारले पहल थालेको छ ।

प्रधानमन्त्री केपी ओलीले भारतीय राजदूत रणजित राय र केही उच्च अधिकारीलाई आमन्त्रित गरी राजधानीस्थित द्वारिकाज होटलमा आइतबार साँझ रात्रिभोज आयोजना गरेर भ्रमणको विषयमा छलफल गरेको स्रोतले बतायो । यद्यपि मोदीको भ्रमण हुने या नहुने भन्ने विषयमा अझै अन्तिम टुंगो लागिसकेको छैन ।
स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीका अवसरमा जेठ ८ गते लुम्बिनीमा हुने विश्व बौद्ध सम्मेलनमा सहभागी हुन आउने चाहना राखेका छन् । उनको त्यही चाहनाअनुरूप भ्रमणको सम्भावनाबारे छलफलका लागि प्रधानमन्त्री ओलीले राजदूत रायसँग छलफल गरेका हुन् ।
मोदीले निकट भविष्यमा नेपाल भ्रमण गर्नेबारे भारतीय दैनिक टेलिग्राफले दुई दिनअघि समाचार लेखेको थियो । उनीसँगै बिहारका मुख्यमन्त्री नितीश कुमार पनि बौद्ध सम्मेलनमा भाग लिन नेपाल आउने सम्भावना रहेको टेलिग्राफमा उल्लेख थियो ।
२०७१ मंसिरमा आयोजना भएको १८औं सार्क शिखर सम्मेलनका बेला नै मोदीले लुम्बिनी र जनकपुर भ्रमण गर्न खोजेका थिए । तर, त्यो समयमा सुरक्षा र अन्य कारण देखाएर दुवै स्थानका भ्रमण कार्यक्रम अन्तिम अवस्थामा रद्द गरिएका थिए ।
त्यही अधुरो चाहना पूरा गर्ने र नेपालसँग बिग्रिएको सम्बन्ध सुधार्ने उद्देश्यबाट मोदीले लुम्बिनीमा हुन लागेको बौद्ध सम्मेलनलाई रोजेको भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले सुनाए । ‘आधिकारिक कुरा आएको छैन तर सम्भावना नभएको होइन,’ एक अधिकारीले बताए ।
प्रधानमन्त्री ओलीले भारतीय राजदूतसँग यही विषयमा छलफल गरेको स्रोतको दाबी छ । भारतीय दूतावासले प्रधानमन्त्री ओलीद्वारा आयोजित रात्रिभोजमा राजदूतलगायतका अधिकारी गएको पुष्टि गरे पनि विस्तृत जानकारी दिएको छैन । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल भेटघाटमा रहे पनि आइतबार राति उनले कुनै जानकारी दिन चाहेनन् ।
परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावित भ्रमणबारे कूटनीतिक तहमा छलफल अघि बढेको जानकारी आफूलाई नभएको प्रतिक्रिया दिए ।
‘राजनीतिक तहमा भएको भए थाहा छैन,’ उनले भने । नेपालमा संसद् अधिवेशन सुरु हुनु दुई दिनअघि मोदीको भ्रमणको विषयलाई लिएर दुई देशबीच अनौपचारिक छलफल हुनुलाई महत्त्वका साथ हेरिएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका नायब महासचिव जान इलिनेएसन र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिससँग आइतबार छुट्टाछुट्टै छलफल गरेका छन् । उनीहरूसँगको भेटमा भूकम्पपछिको पुनर्निर्माण र नेपालको राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।
साभारः कान्तिपूर अनलाइन