काम नगर्नेको तलब रोक्का हुन्छः विष्ट


जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव केशवकुमार विष्टले काम नगरी तलब मात्र बुझ्ने प्रशिक्षकको तलब रोक्का हुने बताएका छन् ।

सातौं राष्ट्रिय खेलकुद र नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं सागको आयोजनालाई कसरी प्रभावकारी, व्यवस्थित र उपलब्धीमूलक बनाउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन गर्न आयोजित अन्तरक्रियामा सदस्य-सचिव विष्टले भने- ‘जुन प्रशिक्षकले खेलाडीलाई प्रशिक्षण नै नगराइ हाजिर गरेको भरमा तलब मात्र बुझ्छन् ति प्रशिक्षकको हाजिर र तलब रोक्का हुन्छ ।’

सदस्य-सचिव विष्टले प्रशिक्षण नगराउने प्रशिक्षकको रिपोर्ट सम्बन्धित निकायमा बुझाउन समेत क्षेत्रीय प्रशिक्षण प्रमुखलाई निर्देशन दिदै खेलाडीलाई प्रशिक्षणको वातावरण मिलाउन सकेसम्म कन्जुस्याईं नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न तीनदिने अन्तरक्रियामा विभिन्न २३ खेलका प्रमुख प्रशिक्षक र पाँच क्षेत्रका क्षेत्रीय प्रशिक्षण प्रमुखहरुको उपस्थिति रहेको थियो ।

२०५४ सालपछि पहिलो पटक यस्तो अन्तरक्रिया आयोजना गरिएको विभागका निर्देशक नवीन उप्रेतीले जानकारी गराए । निर्देशक उप्रेतीले अन्तरक्रियाबाट आएका सुझावलाई समेटी पुस्तक तयार गरी हरेक जिल्ला र क्षेत्रमा पठाइने जानकारी दिए ।

अन्तरक्रियामा सहभागीबाट राष्ट्रिय टिमको विकल्पका रुपमा अर्को टिम पनि तयार गर्नु पर्ने, दीर्घकालीन योजनाको आवश्यकता, खेलेर मात्र पदकको सम्भावना नभएकोले वैज्ञानिक प्रशिक्षणमा जोड दिनु पर्ने, दैनिक प्रशिक्षणका लागि खेल सामाग्रीको व्यवस्थापन, कराते र क्रिकेटलाई १३ औं सागमा समावेश गराइनु पर्नेलगायतका सुझाव प्राप्त भएको बताइएको छ ।

निर्देशक उप्रेतीले हरेक जिल्ला र क्षेत्रको समस्या पहिचन गर्न यस्तो कार्यक्रम महत्वपूर्ण भएको बताउदै प्राप्त सुझावलाई कार्यन्वयन गर्न अभाव र दबावबाट मुक्त हुनु पर्नेमा जोड दिए ।
साभारः अनलाईन खबर ।