सुर्खेतको सिम्तामा संघीय संसदको झझल्को


युवराज पंगाली ।
सुर्खेत, २० असार । बुधबार दिउँसो ठिक १ः०० बजेको थियो । सभाहल संसदहरुले भरिभराउ थियो । मर्यादापालक आएर सम्माननिय राष्ट्रपतिज्यू, माननिय सांसदहरु भनेर सम्बोधन गरे, सम्बोधन गर्नेबित्किै मुल ढोका खुल्यो ।
सभामुख वीरेन्द्र लम्साल र राष्ट्रपति सरिता रसाइली हलमा प्रवेश गरे । दुवैको प्रवेश लगत्तै बसिरहेका सांसद जुरुक्क उठे, राष्ट्रिय गीत बज्यो ।

सभामुख वीरेन्द्र लम्सालले संसदको अध्यक्षता गरे भने बैठकको नियमित कार्यसुची सार्वजनिक गरे । प्रधानमन्त्री रविकिरण हमालले राष्ट्रपतिलाई सरकारको नीति तथा हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो ।
यो घटना प्रतिनीधि सभा तथा प्रदेश सभा नभई सिम्तामा भएको नमूना युवा संसदको थियो ।
प्रतिनीधि सभा संसदकै झल्को दिनेगरी युवाहरुको नमूना संसद सञ्चानल गरिएको छ ।

सिम्ता गाउँपालिका,युवा परिषद् सुर्खेतको आयोजना र सुशासन प्रर्वद्धनका लागि युवा सिम्ताको समन्वयमा सुर्खेतमा पहिलो पटक सिम्तामा युवा संसद सञ्चालन गरिएको हो ।

नमूना युवा संसदको अभ्यासका लागि नेपालका कुल १४ वटा स्थानीय तहहरु मध्ये सुर्खेतको सिम्ता गाउँपालिका छनौंट भएको थियो ।

नमूना युवा संसदका राष्ट्रपति सरिता रसाइलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सिम्ता गाउँपालिकाले युवा मैत्री आधुनिक सूचना प्रविधिमैत्री र युवा स्वरोजगारमूलक नीति अबलम्बन गर्ने घोषणा गरिन ।

गाउँपालिकाको हरेक वडास्तरबाट विकास योजना छनौंट गर्ने क्रममा वडास्तरिय युवा क्लवको अध्यक्षलाई अनिवार्य सहभागि गराउने, युवाका सवालरुमा प्राथमिकिकरण गरी योजनाहरुको छनौंट गर्ने नीति घोषणा गरिएको छ ।

नमूना संसदको नीति तथा कार्यक्रम मार्फत सिम्तामा शैक्षिक योग्यता र तालिम प्राप्त युवाहरुले सिप, क्षमता र व्यवसायीक योजनाका आधारमा प्रत्येक वडामा १०० जना युवालाई निव्र्याजी ऋण उपलब्ध गराउने, वडामा युवा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिकामा सुविधा सम्पन्न आधुनिक सूचना प्रविधि पार्क निर्माण गर्ने घोषणा गरिएको छ ।
त्यसैगरी गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, प्रत्येक माध्यमिक विद्यालयमा न्यूनतम् १० वटा कम्प्यूटर र निःशुल्क इन्टरनेटको सुविधा प्रदान गर्ने, हरेक बर्ष गाउँपालिकामा युवा महोत्सवको आयोजना गर्ने, युवाहरुको अनूभव आदान प्रदान गर्न युवा सम्मेलनको आयोजना गर्ने, दुव्र्यसनिमा फसेका युवाहरुलाई जीवन उपयोगी सिप तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने नमूना युवा संसदमा घोषणा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले नमूना युवा संसदमार्फत उठेका सवालहरु सम्बोधन गर्न सञ्चालन भैरहेको गाउँ सभामा पेश गरिने जानकारी दिए । सभामा छलफल गरी अगाडी बढिने अध्यक्ष केसीको भनाई छ ।
गाउँपालिकाको समग्र विकासका लागि विशेषगत कार्यालय, लक्षितवर्ग, सामाजिक रुपमा पछाडी परेका वर्ग समुदायहरुको सहभागिता र नेतृत्वमा कार्यक्रमहरुलाई अगाडी बढाउने नीति भए अनुसार युवा संसदका सवालहरुलाई पनि गाउँसभाले सम्बोधन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

बढदै गएको दुव्र्यसनि, महिला हिंसा, सामाजिक विकृति, विसंगतिहरुको न्यूनिकरणका लागि युवा संसदहरुसंगको साझेदारीमा अगाडी बढ्ने अध्यक्ष केसीले प्रतिवद्धता जनाएका छन् ।

नमूना युवा संसदमा राष्ट्रपति ः सरिता रसाइली, उपराष्ट्रपति ः लक्ष्मी बुढा, सभामुख ः वीरेन्द्र लम्साल, उपसभामुख ः अर्जून खत्री, प्रधानमन्त्री ः रविकिरण हमाल, गृहमन्त्री ः बादल वली, युवा तथा खेलकुद मन्त्री ः कपिल थापा, अर्थ तथा योजना मन्त्री ः अनिता घर्ती, शिक्षा तथा प्रविधि मन्त्री ः अरुण थापा, पर्यटन तथा।, नागरिक उड्डयान मन्त्री ः चन्द्र सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्री ः सम्झना महतारा, विपक्षी दलका नेता ः विनोद अधिकारी रहेका छन् ।