थप १ लाख ७१ हजार भूकम्पपीडितलाई अनुदान बाँड्ने तयारी


२७ जेठ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ लाख ७१ हजार ६ सय ७७ भूकम्पपीडित परिवारहरुलाई पहिलो किस्ताको अनुदान रकम वितरण थाल्ने भएको छ ।  बैंकमार्फत अनुदान वितरण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्ऽीय आयोजना कार्यान्वयन इकाईलाई प्राधिकरणले निर्देशन दिएको छ ।

नेपाल  बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल फाइनान्सियल इन्स्िटच्यूसन एशोसियसनसँग जेठ १४ गते भएको समझदारी पत्रअनुसार प्राधिकरणले स्थानीय स्तरमा जिल्ला विकास समितिमार्फत अनुदान वितरणको कार्य अघि बढाउन निर्देशन दिएको हो ।

प्राधिकरण र तीन वटा बैंकर्स एशोसियसनबीच भएको समझदारीपत्र अनुसार अनुदान रकम वितरणका लागि प्राधिकरण र ५३ वटा बैंकबीच छुट्टाछुट्टै सम्झौता भइसकेको छ ।

प्राधिकरणले जिल्ला समन्वय उपसिमितिलाई स्थानीय आवश्यकता अनुसार बैंकहरुबाट प्राप्त क्षेत्रगत विभाजनको सूचीमा आपसी समझदारीबाट घरधनीहरुको संख्यामा आवश्यक परेमा समायोजन गर्न समेत गर्न सक्ने व्यवस्था रिएको जनाएको छ ।

बैंक र अनुदान पाउने सूचीमा परेका थप घरधनीको क्षेत्रगत विभाजन गरी अनुदान रकम वितरणलाई प्रभावकारी बनाइने उसको दावी छ ।
अनुदान रकम वितरणका लागि प्राधिकरणले स्थानीय विकास मन्त्रालयको आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४४ करोड ६८ हजार रुपैयाँ निकासा गरिसकेको छ ।

इकाईमार्फत विभिन्न जिल्ला विकास समितिहरुलाई गत वैशाख २६ गते रकम निकासा भएको थियो ।  इकाईकाअनुसार गत चैत्र २५ गतेसम्म अनुदान पाउने सूचीमा परेका ६४ हजार ३ सय २० घरधनीसँग अनुदान सम्झौता भइसकेको छ ।

भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको सर्भेक्षण गरिएको थियो । त्यस मध्ये ५ लाख ३३ हजार ४ सय ५४ घरधनीको नाम अनुदान पाउने सूचीमा परेको छ ।

क्षतिको मापदण्डभित्र नपरेका १ लाख ८४ हजार २ सय ६४ घरधनीको नाम अनुदान पाउनेको सूचीमा समावेश नभएको प्राधिकरणले जनाएको छ ।

सर्भेक्षणका क्रममा घरको क्षतिलाई १,२,३,४ र ५ तहमा राखिएको थियो । घरको धेरै क्षति भएका ३,४ र ५ तहमा परेकाहरुलाई मात्र अनुदान पाउने सूचीमा राख्ने व्यवस्था छ । क्षतिको १ र २ मा परेका घरहरुको मर्मत गरी बस्न सकिने भएकाले सूचीमा नपरेका हुन् ।

हालसम्म २८ हजार भन्दा बढीले आफ्नो नाम पीडितको सूचीमा छुटेको दावी गरेका छन् । उनीहरुबारे छानविन गरेर वास्तविक भूकम्प पीडित भएको पाइए अनुदान दिइने भएको छ ।

साभारः अनलाइन खबर