गरिव विद्यार्थीलाई वर्षेनी सहयोग गर्ने प्रतिवद्धता


 

साउन १८, वीरेन्द्रनगर सुर्खेत । सुर्खेतका पुराना एवं प्रतिष्ठित व्यापारी टेकबहादुर भण्डारीले जिल्ला बाल संगठन सुर्खेत अन्तर्गत सञ्चालित बाल मन्दिर विद्यालयका विद्यार्थीलाई वर्षेनी विद्यालय पोषाक र शैक्षिक सामाग्री सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
आज (शुक्रबार) आफ्नो व्यक्तिगत तर्फबाट बाल मन्दिरका विद्यार्थीहरुलाई विद्यालय पोषाक र दिवाखाजा सहयोगस्वरुप उपलब्ध गराउने क्रममा भण्डारीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

विद्यालयमै कार्यरत शिुश स्याहार केन्द्रकी शिक्षिका शान्ता खत्रीको व्यक्तिगत आग्रह र बाल संगठनको पहलमा व्यापारी भण्डारी र उहाँकी धर्मपत्नी नन्दकुमार भण्डारीले विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराउनु भएको हो ।

बाल मन्दिरमा पढ्ने अति विपन्न परिवारको कुनैपनि बालबालिकाले शैक्षिक सामाग्री, दिवा खाजा र विद्यालय पोषाकको अभावमा बीचैमा पढाई छोड्न नपरोस भन्ने आप्mनो चाहना रहेको उहाँको भनाई छ ।

शैक्षिक सामाग्री र विद्यालय पोषाक म प्रत्येक वर्ष उपलब्ध गराउनेछु । भण्डारीले प्रतिवद्धता जनाउँदै भन्नुभयो, विद्यार्थीहरुका लागि थप के आवश्यक पर्छ म सहयोग गर्न तयार छु ।

तस्विरः धर्म भण्डारी फेसबुकबाट ।

आर्थिक अभावकै कारण कुनै बालबालिकाको भविष्य अन्धकार हुन नहुनेमा जोड दिंदै उहाँले आवश्यक्ता अनुसार विद्यार्थीका लागि दिवा खाजाको पनि व्यवस्थापन गर्ने आश्वासन दिनुभएको छ ।

कार्यक्रममा बाल संगठनका सचिव गणेशकुमार कार्कीले विगतमा प्रदेशको राजधानी रहेकै ठाउँमा रहेको बाल मन्दिर उपेक्षित भैरहेको गुनासो गर्दै विद्यार्थीका लागि सहयोग मागेर गुजारा चलाउनु परेको उल्लेख गर्नुभयो ।

बाल संगठनका तर्फबाट गरिएको पहल र प्रयासमा विभिन्न संघसंस्था र व्यक्तिले विभिन्न समयमा उपलब्ध गराएका लत्ताकपडा, कापीकलम झोला र पोषाकबाट विद्यार्थीहरुको गुजारा चलिरहेको सचिव कार्कीले जानकारी दिनुभयो ।