पहिरोका कारण सल्यानका सात सय घर जोखिममा


रमेश कुमार वली
सल्यान २०, साउन । जिल्लामा लगातारको वर्षाका कारण सात सय बढी घर पहिरोको जोखिममा रहेका छन् । लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका सात सय भन्दा बढी घर परिवार पहिरोको जोखिममा रहेको भूसंरक्षण कार्यालयले सल्यानले जनाएको छ ।
जोखिममा रहेका बस्तीहरुमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुला लगायतका रहेका छन् । ति बस्तीमा बसोबास गर्ने सात सय बढी घर परिवार पहिरोको जोखिममा रहेको भुसंरक्षण कार्यालय प्रमुख वीरेन्द्र प्रसाद पटेलले जानकारी दिनुभयो ।
जंगल मासेर सडक निर्माण गर्ने क्रम पछिल्लो समय बढ्दै गएका कारण पहिरोको जोखिम बढेको उहाँको भनाई छ । चुरे क्षेत्र र पहाडी बस्ती भएकाले पहिरोको जोखिम अन्य जिल्लाको तुलनामा यस जिल्लामा बढी छ उनले उहाँले भन्नुभयो । अहिलेसम्म कुनै मानविय क्षति नभएपनि करोडौंको भौतिक क्षति भएको उहाँको भनाई छ ।
कपुरकोट र खर्सुवास उच्च जोखिममा
जिल्लामा पहिरोको उच्च जोखिममा रहेका बस्तीहरु मध्ये कपुरकोट रहेको छ । पहिरोका कारण कपुरकोट बजार समेत उच्च जोखिममा परेको छ । वर्षातका कारण सो क्षेत्रको राप्ती लोकमार्गको झन्डै सय मिटर भाग भासिएको छ भने २०६९ सालमा सोही स्थानमा रहेको कालिका मा.बि.का तीनवटा भबन भासिएर भत्किदा एक करोड बराबरको क्षती भएको थियो ।
आइतवार परेको अविरल वर्षाले नयाँ ठाँउमा सारेको भवन समेत पहिरोको जोखिममा परेको छ । वर्षाले विद्यालय प्रागंन निर्माण गर्न राखिएको १ सय ७५ वटा जाली वगाइदिएपछि विद्यालय भवन जोखिममा परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रविर कवरले जानकारी दिनुभयो ।
“२०६९ को पहिरोले तीन वटा भवन भत्कायो र अलि सुरक्षित स्थानमा विद्यालय सारियो तर यो वर्ष पनि फिल्ड निमार्णका लागि लगाइएको १ सय ७५ थान तारजाली बगाए दियो नयाँ भवन समेत पहिरोको जोखिममा छ । ” अध्यक्ष कवरले भन्नुभयो ।
यस्तै जिल्लामा जोखिममा रहेका बस्तीहरु मध्ये छत्रेश्वरी गाउँपालिकाको खर्सुबास गाउँ पहिरोको उच्च जोखिममा परेको छ । प्रत्येक वर्ष वर्षायाममा जस्तै यस वर्ष पनि यहाँ पहिरो जाने क्रम शुरु भएको छ । बस्ती बगाउने खतरा बढेकोले आफुहरु त्रसित अवस्थामा भएको स्थानीय टिकाराम पुनले जानकारी दिनुभयो ।
“निरन्तर झरिरहेको खर्सुवास पहिरोले बस्ती छुन थालेकाले वर्षातको शुरुवात संगै गाउँ आसपास जान कठिनाइ भएको छ ।” स्थानीय पुनले ले भन्नुभयो । “पानी पर्न थालेपछि मनमा चिसो पस्न थाल्छ, पहिरोको डरले कति पानी परेको दिन त रातभर जाग्राम बस्ने गरेका छौं ।” पुनले भन्नुभयो ।
पहिरोको उच्च जोखिममा भएपनि वैकल्पिक व्यवस्था नहुँदा जोखिम मोलेरै गाउँमा बस्न बाध्य भएको पुनले वताउनुभयो । खर्सुवास गाउँमा २०६९ सालमा गाउँको बीच भागबाट ठूलो पहिरो गएको थियो । त्यसपछि बर्सेनी पहिरो खस्ने क्रम नरोकिएको पुनको भनाई छ ।