नयाँ शक्ति नेपाल जुम्लाका संयोजक बुढ्थापा मृत अवस्थामा फेला


साउन २१, जुम्ला । नयाँ शक्ति नेपाल जुम्लाका संयोजक राधाकृष्ण बुढ्थापा बेवारिसे अवस्थामा मृत फेला परेका छन् । जुम्ला सदरमुकामको जुगाड खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार उनी विहानै जुगाडखोलाको पुलमा मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक प्रकाश कुमार केसीका अनुसार चन्दननाथ नगरपालिका ४ का वासिन्दा वुढ्थापाको मोटरसाईकल अस्पताल नजिकैको कालढुंगीमा भेटिएको छ । उनले भने,”मृतक बुढ्थापाको शव जुगाडखोलाको पुलमुनी अड्किएको अवस्थामा भेटिएको हो ।”

प्रहरीका अनुसार मृतक बुढ्थापा आईतबार राती होटल सनलाईटमा वसेका थिए । प्रहरी निरिक्षक केसीले भने, “मदिरा सेवन गरेर बुढ्थापा र एंगल लामा विच विवाद भएको थियो । होटल सञ्चालक रोकायाले लामालाई घर सम्म पु¥याएको वयान दिएका छन् ।” तर लामालाई पुरयाएर आउदा सम्म मृतक बुढ्थापा र मोटरसाईकल थिएन, रोकायाले भने । प्रहरीले सोधपुछका लागि एंगल लामा र होटल सनलाईटका सञ्चालक खड्गजित रोकायालाई नियन्त्रणमा लिएको छ।

यो घटना रहस्यमय भएको भन्दै अनुसन्धान गरेर दोषिलाई कार्वाहीको लागि स्थानीयले माग गरेका छन । शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
साभारः बुलबुले खबर ।