९ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कोरोना भाइरस कोभिड १९ को कारणले ज्यान गुमाएका अति विपन्न, असहाय व्यक्तिको परिवार वा आफन्तजन नभएको वा आफन्तजन भएपनि चिता बनाउन नसक्नेहरुलाई शवदाह गर्न आवश्यक व्यवस्थापन गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकले निर्णय गरेको छ ।
त्यस्तै बैठकले जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले शवदाहको लागि आवश्यक पर्ने दाउरा तथा सोको ढुवानीको व्यवस्था मिलाउने तथा शवदाहको लागि आवश्यक पर्ने दाउरा वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालय, सुर्खेतसँग समन्वय गरी व्यवस्था गर्ने निर्णय गरेको छ ।
त्यस्तै शवलाई घाट सम्म पुर्याउनकालागि सुर्खेत उद्योग बाणिज्य संघ वा वीरेन्द्रनगर नगरपालिकाको शववाहन प्रयोग गर्ने र यसका लागि कर्णाली प्रदेश अस्पतालले जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, नेपाली सेना, बिरेन्द्रनगर नगरपालिका र वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालय, सुर्खेतसँग समन्वय गर्ने निर्णय गरेको छ ।
बैठकले जिल्लामा कोभिड–१९ को संक्रमण फैलिई दैनिक रुपमा विरामीहरुको मृत्यु भईरहेको सन्दर्भमा शव व्यवस्थापनको लागि जिल्लास्थित भेरी नदीको पुल नजिकको किनारमा रहेको शव घाटमा आवश्यक पर्ने दाउरा सहुलियत दरमा उपलब्ध गराउनको लागि सो क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समितिसँग आवश्यक समन्वय गरिदिनका लागि डिभिजन वन कार्यालय, कर्णाली प्रदेश, सुर्खेतलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।



Prawash Kumar Shakya । ९ जेष्ठ २०७८, आईतवार १९:१९ बजे