खरीखोला बरीखोला खानेपानीको निर्माण शुरु


सुर्खेत,२१ फागुन । वीरेन्द्रनगर उपत्यकाको खानेपानीको समस्या समाधानको लागि उत्कृष्ट विकल्पको रुपमा लिइएको खरीखोला बरीखोला खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आजदेखि आयोजनाको निर्माण कार्य सुरु गरिने पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । आयोजना १७ करोड १८ लाख ९७ हजार पाँचसय ५० रुपैयाँको लागतमा निर्माण हुने समितीले जनाएको छ ।
गत असारको महिना टेण्डर आह्वान गरी पुसको अन्त्यमा सम्झौता भएको थियो । सुर्खेतकै स्थानिय निर्माण कम्पनी दिवाप्रेरा जेभी कनट्रक्सनसंग १५ करोड ६० लाख ५८ हजार आठसय दुई रुपैयाँमा सम्झौता भएको झुप्रावृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिनुभयो । आयोजनाका बारेमा जानकारी दिँदै आयोजना उपप्रमुख केशवराज विष्टले नेपाल सरकारको ५० प्रतिशत अनुदान र उपभोक्ता समतिको ५० प्रतिशतमा निर्माण हुने उक्त आयोजना नेपालमै नमुना आयोजना भएको दावी गर्नुभयो ।
आयोजनाको निर्माण कार्य एकवर्षभित्र सम्पन्न गरिसक्नुपर्ने पनि उहाँले जानकारी दिनुभयो । आउदो जेठको मसान्तसम्म प्रशोधन ट्याङकी निर्माण गरिने करैखोलासम्म पानीलाई पाइपमार्फत ल्याउने लक्ष्य रहेको उहाँको भनाइ छ । आयोजना सम्पन्न भएपछि प्रतिघण्टा ३० लिटरका दरले वीरेन्द्रनगरमा खानेपानीको आपुर्तीहुने प्राविधिक परामर्शदाता प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो । उक्त पानीलाई वीरेन्द्रनगरसम्म ल्याउनको लागि विभिन्न स्थानमा ४ वटा नयाँ ट्याङ्कीहरु निर्माण गरिने ढकालले जानकारी दिनुभयो ।
जसमा स्किम नं २ मा एकलाख ५० हजार लिटर क्षमताको, स्किम नं ३ र ७ मा तीन लाख लिटर क्षमताको, र स्किम नं १० मा एकलाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिने भएको छ । यसैगरी आयोजना अन्तर्गत जिर्ण भएका वीरेन्द्रनगर उपत्यका भित्रका पाइपलाईन समेत व्यवस्थीत गरिने प्रमुख ढकालले बताउनुभयो । निर्माण कम्पनीका प्रमुख व्यवसायी पदमबहादुर खड्काले आफ्नो जिल्लाको महत्वपूर्ण योजनालाई महत्वका साथ कामलाई प्रभावकारी रुपमा तिव्र सञ्चालन गरिने बताउनुभयो ।
यस्तै आयोजनाको रकम भुक्तानीको सम्बन्धमा ७० प्रतिशत रकम नेपाल सरकारले दिनेछ भने ५ प्रतिशत रकम उपभोक्ता संस्था र बाँकी २५ प्रतिशत रकम नगरविकास कोषले गर्ने कार्यक्रममा जानकारी गराइएको छ ।