दुबै मृगौला फेल भएकि नविना ढकाललाई उपचाररत डेढ लाख सहयोग



सुर्खेत,२१ साउन । दुबै मृगौला फेल भएर उपचाररत दैलेख नौमूले–१, घर भई हाल सुर्खेत शिक्षा क्याम्पसमा अध्ययनरत नविना ढकाललाई वीरेन्द्रनगर–९, मंगलगढी मिलन टोल विकास संस्थाले करिब डेढ लाख आर्थिक सहयोग गरेको छ ।
चार महिना अगाडी दुबै मृगौला फेल भई हाल काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा डाइलासिस गराई रहेकी २१ वर्षिया नविनालाई मृगौला प्रत्यारोपणको लागि टोल संस्थाले एक लाख ३६ हजार ७ सय ९० रुपैयाँ नगद सहयोग गरेको हो ।
मंगलगढी मिलन टोल विकास संस्थाले हाल वीरेन्द्रनगर–९, मा समेत घर भएकी नविनाको उपचारको लागि संकलन गरिएको रकम उनका दाजु दत्तप्रसाद ढकाल (जैसी) लाई सोमबार एक कार्यक्रम बिच सहयोग रकम हस्तान्तरण गरेको छ ।

टिचिङ्ग अस्पतालमा हप्तामा दुई पटक डाइलासिस गर्दै आएकि नविनाको दुबै मृगौला प्रत्यारोपणको लागि करिब २० लाखको हाराहारीमा रकम आवश्यक रहेको छ । तर तत्कालको लागि एउटा मात्र मृगौला प्रत्यारोपणको तयारी गरिएको बिरामीका दाई दत्तप्रसादले बताए । ‘म आफैपनि मृगौला रोगी हुँदैहुँदै बहिनीलाई पनि मेरो जस्तै रोग भयो,’ उनले भने, ‘जबकी मेरो परिवारमा अरु कसैलाई भएको थिएन । हामी दुई दाजु, बहिनीलाई मात्र भयो ।’ उनले मृगौला रोगी भएपनि स्थानीयको सहयोगमा समस्या सँग जुद्धन आफुहरु कोशिस गरिरहेको जिकिर गरे । मृगौला प्रत्यारोपणको लागि हालसम्म संकलन भएको रकमले नपुग्ने भएकाले बाँकी रकम सहयोगका लागि सबैसँग उनले आग्रह गरेका छन् ।

एउटा मात्र मृगौला प्रत्यारोपण गर्न करिब ८ लाख रकम लाग्ने डाक्टरले बताएको छ । यता मंगलगढी मिलन टोल विकास संस्थाले आर्थिक सहयोग रकम संकलन अभियानलाई जारी राख्ने मनसाय बनाएको छ । टोल विकास संस्थाका अध्यक्ष कमलबहादुर जिसीले भने, ‘हामीले नविनाको मृगौला प्रत्यारोपणको लागि करिब डेढ लाख रकम संकलन गरी हस्तान्तरण गरिसकेका छौं । आवश्यक परे थप सहयोग रकम संकलन अभियान जारी राख्न सकिन्छ । टोल विकास संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने योजनामा छौं ।’ आर्थिक अवस्था कमजोर रहेकी नविनाको उपचारमा हालसम्म करिब २ लाखको हाराहारीमा खर्च भई सकेको छ ।

अब मृगौला प्रत्यारोपण गर्न धेरै रकमको आवश्यकता छ । तर आफुहरुको क्षमताले बहिनीको मृगौला प्रत्यारोपण गर्न असम्भव छ । त्यसैले बहिनीलाई बचाई दिनको लागि मृगौला प्रत्यारोपण गर्न कुनै संघसंस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा एनएमवी बैंक सुर्खेत शाखामा दत्तप्रसाद जैसीको खाता नम्वर ०९२२४७००६३८२१४ ०००००१ जम्मा गर्न नविनाका दाईले आग्रह समेत गरे । अविवाहित नविना ढकाल सुर्खेत शिक्षा क्याम्पस वी एड चौथो वर्षकी छात्रा हुन् ।

किड्नी प्रत्यारोपन गर्न आर्थिक समस्या सुर्खेत शिक्षा क्याम्पस वीएड चौथो वर्षकी छात्रा नविनालाई अहिले नयाँ जीवनको खोजिमा काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा तड्पी रहेकी छिन् । दुबै किड्नी फेल भएर डाईलसिस गराईरहेकी नविना किड्नी फेर्न पाए नयाँ जीवन पाईने अपेक्षामा छिन् । नविनासँगै मानसिक रुपमा तड्पीरहेका उनका पिता आफ्नो एउटा किड्नी छोरीलाई दिन तयार छन्, तर समस्या बनेको छ आर्थिक विपन्नता । दैलेखका सामान्य किसान परिवारका नविनाका पिताले मृगौला दिने बताएपनि आर्थिक अभावको कारण मृगौला प्रत्यारोपण हुन सकिरहेको छैन । उपचार खर्च जुटाउन नसक्दा स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गएको नविनालाई सरकारले निशुल्क उपचार गर्ने भनेपनि सहयोग लिन गाह्रो भईरहेको छ ।
साभारः नेपालगाथा ।