भेरी अञ्चल अस्पतालमा आर्थोस्कोपी सेवा सुरु


२३ श्रावण,  नेपालगन्ज भेरी अञ्चल अस्पतालले अर्थोस्कोपी सेवामार्फत घुँडाको शल्यक्रिया गरी बिरामीको उपचार सुरु गरेको  छ।

राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ट अर्थोपेडिक कन्सल्टेन्ट सर्जन डा विनोद शेरचन र भेरी अञ्चल अस्पतालका अर्थोपेडिक सर्जन डा तिर्थेन्द्र खड्का सहितको टोलीले दुरबिनका माध्यमबाट घुँडाभित्रको मांसपेशी, नशा तथा कुरकुरे हाडमा भएको समस्याको शल्यक्रिया गरी उपचार सुरु गरेका हुन्।

आर्थोस्कोपी सेवामा दुरबिनको माध्यमबाट सानो प्वाल बनाएर जोर्नीभित्र अत्याधुनिक पद्धतिको प्रयोग गरी बिरामीको उपचार गरिन्छ।

आर्थोस्कोपी सेवा सुरु भएसँगै २ दिनको अवधिमा ६ जना बिरामीको अप्रेशन गरी उपचार सेवा प्रदान गरिएको अस्पतालका अर्थोपेडिक सर्जन डा तिर्थेन्द्र खड्काले बताए।

भेरी अञ्चल अस्पतालको हाड जोर्नी विभागमा हुने उपचार सेवालाई बिस्तार गर्ने क्रममा राष्ट्रिय ट्रमा सेन्टरसँग सहकार्य गरेर अस्पतालले अर्थोस्कोपी सेवा सुरु गरेको हो।

गत वर्ष १ करोड ७० लाखमा आर्थोस्कोपी सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरिएको थियो।

अस्पतालको अर्थोपेडिक विभागमा ३ जना अर्थोपेडिक सर्जन भएकाले अस्पतालले आर्थोस्कोपी सेवालाई निरन्तरता दिने अस्पतालका प्रमुख डा प्रकाश थापाले बताए।

स्वास्थखबर पत्रिकाबाट