
केशवराज झाको हत्याका पछाडि ४ सम्भावित कारण
५ भदौ, काठमाडौं । झण्डै एक वर्षपछि राजधानीमा फेरि एकपटक सर्वसाधारणलाई त्रसित बनाउने गरी ‘हाइप्रोफाइल मर्डर’ भएको छ ।
२३ असोज ०७४ मा बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी भएको हत्यापछि काठमाडौंको बबरमहलमा ‘हाइप्रोफाइल’ पूर्वराजदूत केशव झाको आइतबार राति हत्या भएको हो ।
घटनाको वस्तुस्थिति हेर्दा यो गौचन हत्याकाण्डजस्तो ‘प्लान्ड मर्डर’ नदेखिए पनि घटना रहस्यमय छ । अनुसन्धानमा संलग्न अधिकारीहरु स्वयम् घटना रहस्यमय भएको स्वीकार्छन् ।
‘घटना र शवको प्रकृति हेर्दा शंका गर्नुपर्ने ठाउँ धेरै देखिएका छन्’, काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामा भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं ।’
राति सुतेकै ठाउँमा छुरी हानेर हत्या
परराष्ट्र सेवामा ३४ वर्ष व्यतीत गरेका झा फ्रान्सका लागि २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म नेपालका राजदूत थिए । उमेरले ८० पुगिसकेका भए पनि पछिल्लो समय पनि उनी सामाजिक कार्यमा उत्तिकै सक्रिय थिए ।
छिमेकी कुमार श्रेष्ठका अनुसार झाले आइतबार मात्रै पनि एक कार्यक्रममा सहभागी भएर मन्तव्य दिएका थिए । पछिल्लो समय उनी विभिन्न संघसंस्थाहरुमा सल्लाहकारको भूमिकामा थिए ।
छिमेकी श्रेष्ठले अनलाइनखबरसँग कुरा गर्दै शनिबार मात्रै झा आयरल्याण्ड जान लागेका चिकित्सक छोरा किरणराज र बुहारीलाई विदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलसम्म पुगेको बताए।
तर, छोराबुहारीलाई विदाइ गरेको भोलिपल्टै घरमा श्रीमती र भान्छे सानु तामाङ मात्रै भएका बेला झाको रहस्यमय रुपमा हत्या भयो ।
आइतबार साँझ ७ बजे समाचार हेरेर भुइँतलामा सुत्न झरेका उनलाई बोलाउन सोमबार बिहानै उनकी पत्नी झा सुतेको कोठाको ढोकामा पुगिन् । तर, झा बोलेनन् । उनी अनन्त निद्रामा लीन भइसकेका थिए ।
धेरैबेरसम्म बोलाउँदा पनि श्रीमान नबोलेपछि श्रीमतीको मनमा चिसो पस्यो । र, उनले घरमा सेफ काम गर्ने तामाङलाई बोलाइन् ।
झा र उनकी पत्नी बेग्लावेग्लै सुत्दै आएको प्रहरीको भनाइ छ ।
‘भित्रबाट कोठा बन्द गरिएको थियो । पछाडिमा गएर हेर्दा रगत देखिएपछि प्रहरीलाई खबर गरेका हौं’, सेफ तामाङको प्रारम्भिक वयानलाई उदृत गर्दै प्रहरी स्रोतले अनलाइनखबरलाई भन्यो ।
आफ्नै भान्सामा रहेको चक्कु प्रहार गरेर झाको हत्या भएको प्रहरीको भनाइ छ
लगत्तै, अनुसन्धानका लागि सोमबार बिहान महानगरीय प्रहरी आयुक्तका कार्यालय प्रमुख डीआईजी मनोज नेउपाने, अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह, काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी वसन्त लामा लगायत घटनास्थलमा पुगे ।
घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि प्रहरी टोलीले निष्कर्ष निकाल्यो– झाको चक्कु प्रहार गरेर हत्या भयो ।
‘आफ्नै भान्सामा रहेको चक्कु प्रहार गरेर उहाँको हत्या भएको हाम्रो प्रारम्भिक आशंका छ’, महाशाखा प्रमुख सिंह भन्छन्, ‘सोधपुछका लागि सेफ र दुईजना मालीलाई ल्याएका छौं । चाँडै घटनाको तथ्य सार्वजनिक गर्छौं ।’
छोरी राजश्रीसमेत नेपाल बाहिर हुनु र छोराबुहारीलाई बिदाइ गरेको २४ घण्टा बित्न नपाउँदै झाको हत्या हुनु संयोग हो या नियोजित हो भन्ने विषयलाई जोडेर प्रहरीले अनुसन्धान थालेको छ । किनभने, यो विषयले पनि शंका गर्ने ठाउँ उब्जाएको प्रहरी स्रोत बताउँछ ।
के हुन सक्छ झा हत्याको कारण ?
घरमा सुतिरहेको अवस्थामा आफ्नै भान्साको छुरा प्रहार गरी हत्या गरिएको देखिएकाले अनुसन्धान अधिकारी उनको हत्याको रहस्य झाकै ‘कम्पाउण्डभित्र’ लुकेको हुन सक्ने आशंका गर्छन् ।
साभारः अनलाईन खबर ।
Milan Shrestha । ५ भाद्र २०७५, मंगलवार ०३:३९ बजे