
सुर्खेत, ६ भदौ । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थीत वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगको बजार अनुगमन शुरूवात गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका बजार अनुगमन तथा व्यवस्थापन कार्यविधि २०७४ बमोजिम पहिलो पटक बुधवार(आज) देखि अनुगमन कार्य शुरू गरिएको हो। वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलको नेतृत्व टोलीले बजारका विभिन्न ९ वटा पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा व्यापारीले म्याद नाघेका सामानहरु राख्नुका साथै प्राय नास्ता पसलमा तयार पारिएका परिकार खुला राखेर बेच्ने गरिएको पाइएको थियो यसै गरी व्यापारीले खुद्रा खाद्यान्न तथा मदिरा एकै पसलमा राखेर बेच्ने गरेको पाईएता पनि वरिष्ठ अधिकृत पौडेलले व्यापारीहरुले एकै पसलभित्र मदिरा र खाद्यान्न वितरण गर्न नपाइने बताए ।
‘यसरी एकै ठाउँमा मदिरा र खाद्यान्न राखेर बिक्री वितरण गर्न पाइँदैन,’ उनले भने, ‘हामीले अहिले उहाँहरूलाई सुझाव दिएका छौं, उहाँहरूले अलग–अलग नपारे कार्यविधि अनुरुप कारवाही प्रक्रिया अगाडि बढाउने छौं ।’ उनले नगरपालिका उपभोक्ताको स्वच्छ र उपयुक्त मूल्यमा खाद्यान्न तथा अन्य वस्तु पाउने हकको उच्च सम्मान गर्दै अनुगमनमा आएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले उपभोक्ताको हित विपरीत कसैले पनि काम गर्न नहुने बताए । ‘उपभोक्ताको स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्न पाइँदैन,’ उनले भने, ‘त्यस्तो भएको पाइएमा व्यापारी कारवाहीको भागिदार हुन्छ र राज्यले कारवाही गरिछाड्छ ।’
खाद्य निरीक्षक भेषबहादुर थापाले उपभोग्य वस्तुको उपभोग्य मिति, गुणस्तर ध्यान दिएर मात्रै उपभोक्ताले प्रयोग गर्नुपर्ने धारणा राखे । ‘उपभोक्ताले पनि उपभोग्य वस्तुको मिति, गुणस्तरजस्ता कुरामा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘कसैले बेइमानी गरेको खण्डमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गर्दछु ।’
अनुगमन टोलीले मंगलगढी, हटियालाइन र बांगे शिमलमा अनुगमन गरेको हो । वरिष्ठ अधिकृत पौडेलले अब कार्यविधि आइसकेकाले अनुगमन नियमित हुने बताए ।
साभारः लोकान्तर खबर ।



Milan Shrestha । ६ भाद्र २०७५, बुधबार १३:३७ बजे