
भदौ ७, २०७५, कञ्चनपुर – बालिका निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले निष्पक्ष छानविन नगरेको आरोप लगाउँदै कञ्चनपुरका २ पत्रिकाले कालो पृष्ठभूमिमा समाचार प्रकाशित गरेर विरोध जनाएका छन् ।
स्थानीय राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यापारी, विद्यार्थी, महिला, सर्वसाधारण लगायत आन्दोलनमा उत्रिएका बेला पत्रपत्रिकाले समेत आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । स्थानीय ‘दैनिक मानसखण्ड’ले बुधवारको अंकमा ४ वटै पृष्ठमा कालो पृष्ठभूमिमा समाचार प्रकाशित गरेको थियो ।
बिहीवार स्थानीय ‘महाकाली टुडे’ पत्रिकाले समेत कालो पृष्ठभूमिमा समाचार प्रकाशित गरेको छ । प्रहरी प्रशासनको भूमिका शंकास्पद देखिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । बिहीवार समेत कालो पृष्ठभूमिमै प्रकाशित दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीले घटनाको निष्पक्ष छानविनका लागि दबाब सिर्जना गर्न पत्रिकाले सांकेतिक विरोध गरेको बताए ।
प्रहरीले मानसिक समस्या भएका स्थानीय दिलिपसिंह विष्टलाई अभियुक्त बनाएर सार्वजनिक गरेको थियो । नक्कली अभियुक्त सार्वजनिक गरिएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् ।
साभारः लोकान्तर खबर ।



Milan Shrestha । ७ भाद्र २०७५, बिहीबार ०६:३१ बजे