कञ्चनपुरमा गोली चलेलगत्तै प्रधानमन्त्रीलाई प्रचण्डको फोन


उच्चस्तरीय समिति बनाउन आग्रह

८ भदौ, काठमाडौं । तेह्र वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन समिति गठन गर्नुका साथै र सुरक्षा अधिकारीहरुको सरुवापछि कञ्चनपुरको आक्रोश केही मत्थर हुने अपेक्षा थियो ।

तर, शुक्रबार अपरान्ह प्रहरीको गोलीबाट गोली चल्दा बालकको मृत्यु भयो । यसमा सत्तारुढ दलकै नेता भीम रावलको अभिव्यक्ति पनि कारण बनेपछि नेकपाका नेता तथा सांसद आत्तिएका छन् ।

गोली चलेको खबर पाए लगतै कैलाली र कञ्चनपुरका सांसदहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । घटना भएको क्षेत्र कञ्चनपुर-३ का प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टका साथै सांसदहरु लेखराज भट्ट, नरबहादुर धामी खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । ।

उनीहरुले कञ्चनपुर घटनालाई सरकारले गम्भीर रुपमा लिनु पर्ने बताएका थिए । लगतै प्रचण्डले पार्टीका सांसद्हरुकै सामुन्ने प्रधानमन्त्री ओलीलाई फोन गरे, जतिवेला मन्त्रिपरिषद् बैठक चलिरहेको थियो । एक सांसद्का अनुसार प्रचण्डले कञ्चनपुर घटना गम्भीर भएकाले उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरे ।

सरकारले बिहीबार मात्र सह-सचिवको नेतृत्वमा समिति गठन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सरुवा गरेको थियो । दुबै कार्यक्षेत्रमा पुगेकै दिन आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जना मारिएका छन् ।

साभारः अनलाईन खबर ।