पिठो पिस्न एक बास बस्नुपर्ने बाध्यता


९ चैत, जुम्ला । कर्णालीको ग्रामीण बस्तीका अधिकांश महिलाले यहाँको परम्परागत घट्टमा एक बास बसेरमात्र पिठो पिस्न पाउँछन् ।
कर्णालीमा उत्पादित रैथाने बाली जौ, गहुँ, कोदो, मकैको पिठो पिस्न एक बास बस्नै पर्ने बाध्यता विद्यमान छ, उनीहरुलाई । परम्परागत घट्टमा अन्न पिस्दा घन्टौँको समय लाग्ने र त्यसका लागि घन्टौं कुर्नैैपर्ने भएकाले एक बास बस्नुपरेको मालिकाठाँटा–२ जुम्लाकोट गाउँका तिलसरी बस्नेतले बताए ।
गाउँमा पिठो पिस्नेको सङ्ख्या बढी र घट्ट सङ्ख्या कम एवम् समय बढी लाग्ने भएकाले एक बास बसेर पिठो पिस्ने गरेको उनको भनाइ छ ।
यसरी पटक पटकको घट्टबास अधिकांश समय बस्नु पर्ने भएकाले महिला असुरक्षित हुने गरेको कुडारी–४ जुम्लाका सविना शाहीले जानकारी दिए ।
धेरै पटक महिलाको अस्मिता र गरगहना लुटिएका छन् र स्वास्थ्यमा पनि त्यस्तै खराबी आउने गरेको उनको भनाइ छ ।  यसबाट हुने महिला हिंसाको बारेमा भने कसैले कुरा बाहिर नल्याएको स्थानीय महिला अगुवा धनसरा सार्कीले बताए ।
यो समस्या जुम्लाका मालिकाठाँटा, ताम्ती, कुडारी, घोडेमहादेव, कालिकाखेतु, महावैपातरखोला, बड्की, शनिगाउँ, नराकोट, पाण्डवगुफा, विराट, मालिकावोता, कनकासुन्दरी, बुम्रमाडीचौर, छुमचौर, पातारासी, गुठीचौर, डिल्लीचौरलगायतका गाविससहित नगरपालिकामा अहिले पनि यथावत नै छ ।
यो वास्तविक समस्या हो तथापि यसको समाधानका विषयमा सरोकारवाला नै ध्यान नदिएको गैरसरकारी संस्था महासङ्घ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डे बताए । उनका अनुसार पछिल्लो चरणमा आएको आधुनिक घट्ट निर्माण कार्यले एकाध गाविसका जनतामा सहजता मिलेको छ ।
साभारः अनलाइन खबर