९ चैत, जुम्ला । कर्णालीको ग्रामीण बस्तीका अधिकांश महिलाले यहाँको परम्परागत घट्टमा एक बास बसेरमात्र पिठो पिस्न पाउँछन् ।कर्णालीमा उत्पादित रैथाने बाली जौ, गहुँ, कोदो, मकैको पिठो पिस्न एक बास बस्नै पर्ने बाध्यता विद्यमान छ, उनीहरुलाई । परम्परागत घट्टमा अन्न पिस्दा घन्टौँको समय लाग्ने र त्यसका लागि घन्टौं कुर्नैैपर्ने भएकाले एक बास बस्नुपरेको मालिकाठाँटा–२ जुम्लाकोट गाउँका तिलसरी बस्नेतले बताए ।
गाउँमा पिठो पिस्नेको सङ्ख्या बढी र घट्ट सङ्ख्या कम एवम् समय बढी लाग्ने भएकाले एक बास बसेर पिठो पिस्ने गरेको उनको भनाइ छ ।
यसरी पटक पटकको घट्टबास अधिकांश समय बस्नु पर्ने भएकाले महिला असुरक्षित हुने गरेको कुडारी–४ जुम्लाका सविना शाहीले जानकारी दिए ।
धेरै पटक महिलाको अस्मिता र गरगहना लुटिएका छन् र स्वास्थ्यमा पनि त्यस्तै खराबी आउने गरेको उनको भनाइ छ । यसबाट हुने महिला हिंसाको बारेमा भने कसैले कुरा बाहिर नल्याएको स्थानीय महिला अगुवा धनसरा सार्कीले बताए ।
यो समस्या जुम्लाका मालिकाठाँटा, ताम्ती, कुडारी, घोडेमहादेव, कालिकाखेतु, महावैपातरखोला, बड्की, शनिगाउँ, नराकोट, पाण्डवगुफा, विराट, मालिकावोता, कनकासुन्दरी, बुम्रमाडीचौर, छुमचौर, पातारासी, गुठीचौर, डिल्लीचौरलगायतका गाविससहित नगरपालिकामा अहिले पनि यथावत नै छ ।
यो वास्तविक समस्या हो तथापि यसको समाधानका विषयमा सरोकारवाला नै ध्यान नदिएको गैरसरकारी संस्था महासङ्घ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डे बताए । उनका अनुसार पछिल्लो चरणमा आएको आधुनिक घट्ट निर्माण कार्यले एकाध गाविसका जनतामा सहजता मिलेको छ ।
साभारः अनलाइन खबर



Milan Shrestha । ९ चैत्र २०७२, मंगलवार ०७:३३ बजे