सुर्खेत, २३ कात्तिक । साटाखानीलाई वीरेन्द्रनगरमा गाभ्न माग गरिएको छ । स्थानीयको भावना विपरित केही व्यक्तिहरुले साटाखानीलाई लेकवेशी गाउँपालिकामा गाभ्ने सहमति गरेको भन्दैै साटाखानीबासीले आफूहरुलाई उक्त निर्णय मान्ने नहुने बताएका छन् ।
सोमबार नारा जुलससहित जिविस कार्यालय पुगेका स्थानीले आफूहरु लेकवेशी गाउँपालिकामा गाभिन नचाहेको बताए । यसअघि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लाको ८ स्थानीय तहको खाका प्रस्ताव गरी पठाउँदा साटाखानीलाई वीरेन्द्रनगरमा रााखिएको भएपनि संशोधित कार्यविधि अनुसार ९ तह बनाउँदा लेकवेशी गाउँपालिकामा राखिएपछि स्थानीयले विरोध गरेका हुन् ।
साटाखानी– ५ का नरेन्द्र खत्रीले यसअघि साटाखानीलाई वीरेन्द्रनगरको १३ नम्बर वडा बनाउने प्रस्ताव भै खाकासमेत पठाइसकेको भएपनि यसपटक लेकवेशीमा मिसाउँदा आफूहरुलाई अन्याय भएको बताए । खत्रीले भने, हामी कुनै हालतमा लेकवेशीमा जादैनौं । गाविसका केही नेताको इच्छामा हामीलाई वीरेन्द्रनगरबाट छुट्याइँदै छ ।’ उनले यसरी जनताको हित विपरित निर्णय गर्ने अधिकार कसैलाई नभएको बताए । संघर्ष समिति गठन गरेरै आन्दोलित भएका उनीहरुले माग पुरा नभए हजारौं जनता सडकमा उतार्ने चेतावनीसमेत दिएका छन् ।
प्राविधिक समितिले आयोगमा पठाएको पछिल्लो खाकाअनुसार लेकवेशी गाउँपालिकामा साटाखानी, कल्याण, नेटा, दशरथपुर र लेखफर्सालाई राखिएको छ । यता स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी अमृत लम्सालले संशोधित कार्यविधिको मापदण्डका आधारमा गाउँपालिका र नगरपालिका पुनर्संरचनाको संख्या निर्धारण गरी आयोगलाई सिफारिस गरिएको बताए । उनले भने, ‘हामीले स्थानीय स्तरमा पुगेर राजनीतिक दल र स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरी सर्वपक्षिय सहमतिमा खाका सिफारिस गरेका हौं ।
अब आएका सुझाव र असन्तुष्टिलाई पनि आयोगमा पठाउँछौं ।’ संयोजक लम्सालले निर्णय गर्ने अधिकार आफूहरुसँग नभएको भन्दै सबैको हितमा हुनेगरी आयोगमा प्रस्ताव पठाउन कोशिस गर्ने बताए । प्राविधिक समितिले सुर्खेतमा ९ स्थानीय तह रहने गरी आयोगमा यही कात्तिक १९ गते नै प्रस्तावित खाका पठाइसकेको छ । समितिले प्रस्ताव गरेका ९ स्थानीय तहको खाकामा चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चिंगाड गाउँपालिका, लेकवेशी गाउँपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिका रहेका छन् ।
वीरैन्द्रनगरलाई उपमहानगर र लेकवेशीलाई नगरपालिका बनाउन सकिने प्रस्ताव पनि प्राविधिक समितिले पठाएको छ । तर, साटाखानीका बासिन्दाले लेकवेशी नगरपालिका भएपनि आफूहरु वीरेन्द्रनगरमा नै आउन चाहेको बताएका छन् । प्रस्तावित अन्य कतिपय नगरपालिका र गाउँपालिका वडा विभाजनमा पनि प्राविधकि समस्या रहेको बताइएको छ ।
साभारः काँक्रेविहार अनलाइन



Prawash Kumar Shakya । २३ कार्तिक २०७३, मंगलवार ०४:३१ बजे