
६ कार्तिक, जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिएका छन्। प्रदेश-२ को सदनबाट हालै पारित प्रदेश प्रहरी ऐनका विषयमा बोल्दै अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन्।
दाहालले मुख्यमन्त्री राउतलाई बाटोमा ओभरटेक गर्न खोजिए दुर्घटना निम्तिने चेतावनी दिए। त्यसो भएमा पाएको अधिकार समेत गुम्न सक्ने खतरा रहेको दाहालले बताए। सोमबार नेकपा पार्टी प्रदेश-२ द्वारा जनकपुरमा आयोजना गरिएको साँस्कृतिक पर्व विजया दशमी, दिपावली, छठ तथा ईदको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका नेकपा अध्यक्ष दाहालसमक्ष मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेशलाई निकै असहयोग गर्दै आएको गुनासो राखेका थिए।
मुख्यमन्त्री राउतले आफ्नो अभिव्यक्तिको क्रममा भने, ‘आजको यस कार्यक्रमार्फत संघीय सरकारको नारा अनुरुप समृद्ध नेपाली र सुखी नेपालको सपना पूर्ति होस् भन्ने शुभकामना दिन चाहन्छु तर, मात्र शुभकामना दिएर सुख र समृद्ध हुन सक्दैन् यसलाई व्यवहारमा कार्यान्वयन गरिनु आवश्यक छ।’
उनले संविधानको धारामा टेकेर प्रदेश- २ को सरकारले प्रदेश प्रहरी ऐन ल्याएको हुनाले यसलाई सहयोग गर्नका निमित्त संघीय सरकारले सक्दो चाँडो संघीय प्रहरी ऐन ल्याओस् भन्ने चाहना रहेको बताए।
मुख्यमन्त्री राउतले भने, ‘संविधान प्रदत अधिकार प्राप्त गर्नका लागि प्रदेश सरकारले छिटै लोकसेवा ऐन, निजामति सेवा ऐन समेत ल्याउने तयारीमा रहेको छ, त्यसैले संघीय सरकारले पनि ऐनहरु ल्याउन विलम्ब नगरोस् भन्ने अनुरोध छ।’
‘प्रदेशमा ५ हजार कर्मचारीको आवश्यकता छ। मात्र अढाई सय कर्मचारी पठाउँदा विकास र समृद्धि कसरी सफल हुन सक्छ?, ‘मुख्यमन्त्री राउतले अध्यक्ष दाहाल समक्ष प्रश्न गर्दै भने, ‘यदि संघीय सरकारले हाम्रो आवश्यकता बमोजिम कर्मचारी परिपूर्ति गरेन् भने हामी करारमा भर्ना प्रकृया सुरु गर्छौं।’
मुख्यमन्त्री राउतले सिंहदरबार गाउँगाउँमा पुगेको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने, ‘सिंहदरबार त गाउँमा आयो तर सिंहहरु अहिलेसम्म दरबारको पर्खालभन्दा बाहिर आउन सकेका छैनन् यस्तो अवस्थामा विकास र समृद्धिको नारा सफल हुन गाह्रो छ।’
मुख्यमन्त्री राउतको अभिव्यक्ति र गुनासाको जवाफमा नेकपा अध्यक्ष दाहालले भने, ‘प्रदेश- २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐनको अहिले राष्ट्रिय रुपमा नै निकै चर्चा छ। संविधानमा समेत संघीय सरकारले संघीय प्रहरी ऐन ल्याएपश्चात प्रदेशहरुले आफ्नो अनुकुलता अनुसार प्रदेश प्रहरी ऐन ल्याउन सकिने व्यवस्था गरिएको छ। तर, संघीय प्रहरी ऐन ल्याउन केही ढिलाई हुँदैमा त्यसलाई ओभरटेक गरेर प्रदेश प्रहरी ऐन ल्याउनु उचित होइन।
कर्मचारीहरुको अभावका विषयमा मुख्यमन्त्री राउतको गुनासो जायज रहेको भन्दै दाहालले भने,’ कर्मचारी प्रदेश- २ लाई मात्र नभई सातै प्रदेशलाई अपुग छ। तर, केही संघीयता विरोधी तत्वहरुको यसमा हात छ। प्रदेशलाई विफल पार्ने काममा केही शक्तिहरु लागेका छन् तर, हामी त्यस्ता मनसायहरुलाई कहिल्यै पुरा हुन दिदैनौं अध्यक्ष दाहालले चेतावनी दिदैं भने।
अध्यक्ष दाहालले थपे, ‘काठमाडौं निर्माण पहाडका मान्छेले मात्रै गरेका होइन्न्। मधेसी जनताको रगत पसिना मिसिएर काठमाडौं बनेको हो। त्यसैले यदि काठमाडौंबाट अल्लगिएर यदि कसैले मधेस बनाउने भन्छ भने त्यो मधेसी जनताको अपमान र धोका हुनेछ।
राष्ट्रिय एकताले मात्रै मधेसी जनताको अधिकार, सम्मान र विकास सम्भव हुन सक्ने दाहालको भनाइ थियो। विखण्डनकारी आवाजले मधेसी र जनताको अधिकारलाई ध्वस्त बनाउने काम फटहा र डाँकाको रहेको छ उनले भने।
मुख्यमन्त्री राउतलाई लक्षित गर्दै दाहालले भने, ‘मुख्यमन्त्रीजीकै पार्टीसँग हामीले केन्द्रमा संविधान संशोधनबारे सम्झौतामा हस्ताक्षर गरेका छौं। उपयुक्त समयमा हामी संविधान संशोधन गरेर मधेसी जनताको यथोचित्त अधिकार प्राप्तीका लागि प्रतिबद्ध छौं।
कार्यक्रममा सहभागी नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश सरकारले संघीय सरकारतर्फ फर्केर हात देखाउँदै गाली गरेमा आफ्नो कर्तव्य पूरा भएको ठान्नु नहुने धारणा राखेका थिए। उनले भने, ‘एकअर्कामाथि दोषारोपन गरेर वा गाली गरेर केही हाँसिल हुन सक्दैन्।
पौडेलले मुख्यमन्त्री राउतलाई इंगित गर्दै भने,’ प्रदेश २ को सरकारलाई हाम्रो अनुरोध छ विकास र समृद्धिका योजना संघीय सरकारसमक्ष ल्याउनुस् त्यसलाई परिपूर्ति गराउन सरकार र हाम्रो पार्टीले प्रतिबद्धताका साथ सहयोग गर्नेछ।’
अन्नपूर्णपोष्टअनलाइनबाट
Milan Shrestha । ६ कार्तिक २०७५, मंगलवार १८:०३ बजे