बिसी स्मृति प्रतिष्ठानद्धारा शहिदको सम्झनामा अस्पताललाई सामग्री हस्तान्तर


सुर्खेत,२१ साउन । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई आज एक कार्यक्रमबिच विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलनमा शहादत प्राप्त गरेका ४ जना शहिदहरुको सम्झनामा याम बिसी स्मृति प्रतिष्ठानले अस्पताललाई सामग्रीहरु हस्तान्तरण गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष एवम् शहिद यामबहादुर विसीका बुवा शेरबहादुर बुढाले अस्पताललाई १२ थान बेडसिट (तन्दा) का साथै २ वटा बाल्टीन हस्तान्तरण गरेका छन् । क्षेत्रीय अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्काले आन्दोलनको राजनीतिक श्रेय लिन खोज्नेहरुका कारण आन्दोलनमा सर्वसाधारणले ज्यान गुमाउनु परेकोमा आफू दुःखी भएको बताए ।

खड्काले शोकलाई शक्तिका रुपमा परिणत गर्दै शहिद परिवारले अस्पतालप्रति गरेको सहयोगले ठूलो सहयोग मिलेको बताउनु भयो।

याम बिसी स्मृति प्रतिष्ठानले गरेको सहयोग बराबर नै आफूले पनि व्यक्तगत रुपमा अस्पताललाई प्रदान गर्ने प्रतिवद्धता समेत गर्नुभएका डा. खड्काले कर्णालीको राजधानी सुर्खेतमा रहेको अस्पताललाई सबैको साथ र सहयोगले अझै परिस्कृत गर्दै लैजान सकिने बताए ।

साउन १९ गतेदेखि २५ गतेसम्म शहिदहरुको सम्झनामा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमहरु गरिरहेको छ । यसैबिच, सोमबार शहिदहरुकै सम्झनामा देउती बज्यै सामुदायिक वनको चारकुनेमा बृक्षारोपण गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा इलाका वन कार्यालयले उपलब्ध गराएका बकाइनो, बेल, खयर लगायतका १ सय ५० भन्दा बढी विरुवाहरु वृक्षारोपण गरिएको छ । बृक्षारोपण कार्यक्रममा सम्बोधन गर्दै कर्णाली प्रदेश सभा सदस्य पदमा खड्काले तत्कालिन समयमा भएको आन्दोलनमा चार जना सपुतहरुले दिएको बलिदानीका कारण आज कर्णाली प्रदेश भएको बताइन् ।

उनले शहिद परिवारले शोकलाई शक्तिमा बदलेर रचनात्मक कार्यहरु गर्नु भनेको कर्णाली प्रदेशलाई समृद्धितर्फ लैजाने शुरुवाती भएको उनको भनाइ थियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष नन्दलाल शर्मा, देउती बज्यै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपा शर्माको उपस्थिति रहेको थियो ।

साभारः पश्चिमनेपाल ।