कार्तिक १९, सुर्खेत ।
डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिका वडा नं. ९ वतासे ओडारमा आज अपरान्ह विहान भएको जीप दुर्घटना र त्यसवाट भएको मानविय क्षतिप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय महेन्द्रवहादुर शाहीज्यूले दुख व्यक्त गर्नुभएको छ ।
माननीय मुख्यमन्त्रीले जीप दुर्घटनामा परी मृत्यु हुनुभएका त्रिपुरा सुन्दरी नगरपालिका वडा नं.–१, त्रिपुराकोटका हेमराज हमाल, लक्ष्मी रोकाय, नरसिँह कठायत, शेरबहादुर थापा, वडा नं.–२का अस्मिता रोकाय, कुमार रोकाय, वडा नं.–३ का बुध धराला, वडा नं.–५ का याम रोकाय, ठूलीभेरी न गरपालिका वडा नं.–५ का भद्र रोकाय वडा नं.–३ का मनिसा धरालाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ । साथै माननीय मुख्यमन्त्रीले सोही जीप दुर्घटनामा परी घाईते भई डोल्पा जिल्ला अस्पत्तालमा उपचार गराईरहनुभएका त्रिपुरा सुन्दरी नगरपालिका वडा नं.–२,का नन्द बहादुर थापा र वडा नं.–३, का दिनेश बोहोराको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
माननीय मुख्यमन्त्रीले नेपालीहरुको महान पर्व तिहारको मुखैमा भएको जीप दुर्घटना र यसवाट भएको ठुलो मानवीय क्षतिले आफुलाई स्तव्ध वनाएको वताउनुभएको छ । सडक दुर्घटनावाट वर्षेनी हजारौंको संख्यामा हुने गरेको क्षति प्रति चिन्ता जाहेर गर्दै माननीय मुख्यमन्त्रीले सडक दुर्घटनाको रोकथामका लागि गम्भिरतापुर्वक काम गर्न सम्वन्धित निकायलाई आग्रह गर्नुभएको छ ।



Milan Shrestha । १९ कार्तिक २०७५, सोमबार २०:३० बजे