
हाल वीरेन्द्रनगर बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतले कुनै अभाव नभएको जनाएको छ ।
निगम प्रादेशिक कार्यालय प्रमुख दिपक प्रसाद घिमिरेले मौज्दात पर्याप्त रहेको हुनाले यसको अभाव हुने कुनै पनि सम्भावना नरहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “हामीले दैनिक विक्री हुने परिमाण भन्दा दोब्बर परिमाणमा पेट्रोलियम पदार्थ बजारमा आपूर्ति गरेका छौं । आजकालागि हामीले ८०हजार लिटर पेट्रोल र १ सय ६० हजार लिटर डिजेल बजारमा आपूर्ति गरिसकेका छौं । त्यस्तै २२ गते पनि ८०हजार लिटर पेट्रोल र १ सय ६० हजार लिटर डिजेल बजार आपूर्ति हुनेछ । पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली नियमित र सहज रहेको व्यहोरा सम्पूर्ण उपभोक्ता महानुभावहरूमा स्पष्ट पार्न चाहन्छौँ ।”
“बजारमा फैलिन सक्ने अनावश्यक भ्रम वा त्रासको पछि लागेर आवश्यकताभन्दा बढी इन्धन सञ्चय नगर्न र पेट्रोल पम्पहरूमा अनावश्यक भीड नगर्नुहुन हामी विनम्र अनुरोध समेत गर्दछौँ । साथै, आसन्न निर्वाचनको शान्ति सुरक्षालाई मध्यनजर गर्दै नेपाल सरकारको निर्णयअनुसार हाललाई सवारी साधनको ट्याङ्कीमा बाहेक बोतल, ग्यालेन वा अन्य कुनै पनि भाँडोमा पेट्रोलियम पदार्थ खरिद नगर्नुहुन समेत जानकारी गराउँदै सहज र सुरक्षित आपूर्ति व्यवस्था कायम राख्ने यस कार्यमा यहाँहरूको पूर्ण सहयोगको अपेक्षा गर्दछौँ । निगम प्रादेशिक कार्याय प्रमुख घिमिरेले भन्नुभयो ।



Prawash Kumar Shakya । २० फाल्गुन २०८२, बुधबार १३:५३ बजे