नागरिकको ज्यान जोगाउँदै नेपाली सेना


तस्विर बिष्नप्रसाद न्यौपाने

कात्तिक २७ कालीकोट ।
जिल्ला अस्पताल कालीकोटमा ब्लड बैंङ्क नहुँदा बिरामीका लागि आबश्यक पर्ने रगत आपुर्तिका लागि समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने महिलाहरु तथा अन्य बिरामीहरुलाई आवश्यक पर्ने रगत नेपाली सेनाको रणसुर गुल्म, नेपाल प्रहरी तथा अन्य फेला परेका स्थानिय नागरिकहरुबाट आपुर्ति हुने गरेको छ । जिल्ला अस्पताल कालीकोटमा आउने अधिकांश बिरामीहरुलाई रगत आवश्यक परे जिल्लाका सुरक्षा निकायकै सहयोगमा रगतको आपुर्ति गर्नु पर्ने बाध्यता रहेको छ ।

आईतबार मात्र जिल्लाको खाँँडाचक्र नगरपालिका वडा नं. ५ घोडेनाका २५ बर्षिया नेत्रराज शाही जण्डीसको बिरामी भएर उपचार गर्न आउँदा रगतको अभावमा उनको स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि नेपाली सेनाको रणसुर गुल्म कालीकोटमा कार्यरत सिपाही राजेन्द्र थापाले रक्तदान गरे । उनले गरेको रक्तदानका कारण बिरामी नेत्रराज शाहीको ज्यान जोगियो । उनी मात्र होइनन्, जिल्ला अस्पतालमा बिरामीहरुलाई रगत आबश्यक परेको समयमा नेपाली सेनाले नै बढी सहयोग गर्दै आएको छ । नेपाली सेनाको रणसुर गुल्म कालीकोटका गुल्मपती मेजर अमृत थापा मगरले भने, जिल्ला अस्पतालबाट रगत सहयोग गरिदिन माग आउँछ । बिरामीका आफुन्तहरुले पनि फोनबाट अनुरोध गर्छन् । हामीहरुले माग अनुसार उपलब्ध भएपम्म रगत उलपब्ध गराउँदै आएका छौं ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा.विवस पराजुलीले जिल्ला अस्पतालमा आउने बिरामीहरुलाई आवश्यक पर्ने रगत सुरक्षा निकायबाटै सहयोग लिनु पर्ने बाध्यता रहेको बताए । उनले भने, रगत आवश्यक पर्ने बिरामीहरु निकै कम आउँछन । तरपनि रगत आपुर्तिका लागि निकै समस्या हुने गरेको छ । उनले जिल्लामा रगतको श्रोतहरु बिरामीका आफन्त, अस्पतालका कर्मचारी, पृथ्वी रक्तदान बिर फाउण्डेशन, नेपाली सेना र नेपाल प्रहरी रहेको बताए । उनले जिल्लामा बढीजसो प्रसुति गराउन आउने बिरामीहरुलाई रगतको आवश्यक पर्ने गरेको बताउँदै त्यसको आपुर्तिका लागि जिल्लामा सुरक्षा निकायहरुबाट ठुलो सहयोग हुँदै आएको बताए ।

२०७४ सालदेखी जिल्ला अस्पतालमा रगत आपुर्तिका लागि समन्वय गरिहेको पृथ्वी रक्तदान बिर फाउण्डेशको तथ्यांक अनुसार हालसम्म ८८ जनाले रगत दान गरेका छन् । जसमा नेपाली सेना, नेपाल प्रहरी, स्थानिय नागरिक र स्वास्थ्यकर्मीहरु बढी रहेका छन् । पृथ्वी रक्तदान बिर फाण्डेशनका अध्यक्ष रमितकुमार मल्लले जिल्ला अस्पतालमा आउने बिरामीहरुलाई रगत आवश्यक परे पहिले नेपाली सेना, नेपाल प्रहरीसँगै समन्वय गरिरहेको बताए । उनले अन्य व्यक्तिहरु खोजी गर्न समय लाग्ने र रगतको ग्रुप पनि पत्ता लगाउन सजिलो हुने हुँदा सुरक्षा निकायको सहयोग लिनु परेको बताए ।