अशोक राजी
नेपालगञ्ज असार १ गते–
बाँकेमा हुन सक्ने सम्भावित द्वन्द सँग सम्वन्धित सवाल र मुद्दाको पहिचान गरिएको छ । सम्वाद समूह बाँकेको आज वसेको बैठक तथा अन्तरकृयाबाट प्राथमिकता आधारमा ३ वटा सवाल छनौट गरिएको हो ।
द्वन्द व्यवस्थापन, शान्ति निर्माण र सदभाव कायममा विभिन्न कार्यक्रम गर्दै आएको समूहले विगतको समिक्षा गर्दै आगामी कार्यक्रम, रणनिती तथा विषय छनौट बारे सदस्यवीच आवश्यक परामर्श गरेको हो । सम्वाद समूह सचिवालय संयोजक चन्द्र चौधरीको उपस्थितीमा आज भएको छलफलमा आधा दर्जन विषय उठान भएपनि प्राथमिकता, सम्वेदनशिलता र व्यापकताका आधारमा ३ वटा विषय चयन गरिएको छ ।
राजनीतिकर्मी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, कानून व्यवसायी, सञ्चारकर्मी, महिला र यूवा सम्मिलित समुहले नियमित आवश्यक अन्तरकृया, छलफल गर्दै आएकोमा अवदेखि आज छनौट गरिएका सम्भावित द्धन्द्धकै विषयमा केन्द्रीत भएर सरोकारवालासँग निरन्तर सम्वाद प्रक्रिया अघि बढाइने भएको हो ।
समूहमा द्वन्द व्यवस्थापन तथा शान्ति निर्माणसँग सम्वन्धित तालिम प्राप्त दक्ष सदस्य रहेका छन् । समूहले बाँकेमा सामाजिक, सास्कृतिक सदभाव, बाढी र उपभोक्ताको अधिकार तथा कार्यान्वयनको विषयलार्इ सम्वाद प्रक्रियाको क्षेत्र र दायरामा राखेको छ ।
धर्म, जाति, समुदाय या कुनै पनि नाममा समाजमा सदभाव खलबल्याउन सक्ने सम्भावना कायमै रहेको ठहर गर्दै समूहले द्वन्दको प्रकार, कारण, सो को क्षेत्र, सरोकारवालाको पहिचान गरेर सम्वाद थाल्ने निर्णय गरेको छ ।
बाँकेमा बाढीबाट सयौं परिवार घरजग्गा विहिन बनेको, आधारभुत मानवअधिकारबाट वञ्चित भएको, कष्टपूर्ण जिवन व्यतित गरिहेको र आम उपभोक्ता अनेकन ढंगबाट ठगीएको, गुणस्तर वस्तु प्रयोग गर्न नपाएको, उपभोक्ता हकअधिकारबाट वञ्चित भएको सवाललार्इ पनि नियमित सम्वाद तथा छलफलको विषय बनाइएको सम्वादका सहजकर्ता शुक्रऋषि चौलागार्इले जानकारी दिनु भयो ।
छलफलमा सहभागी सदस्यहरुले नियमित सम्वाद थालनीमाफत शान्ति/सदभावको बातावरण सिर्जना गर्न अंह भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल बार एशोसीयशनका पुर्व उपाध्यक्ष एवं समूहका सदस्य प्रहलाद बहादुर कार्की, पत्रकार महासंघ बाँके अध्यक्ष एवं समूह सदस्य रुद्र सुवेदी, पुनरावेदन बारका पुर्व अध्यक्ष एवं समूहका सदस्य लोक बहादुर शाह, जिल्ला वार पुर्व अध्यक्ष एवं समूहका सदस्य विश्वजित तिवारी, द्वन्दपीडित तथा एकल महिला सञ्जाल बाँके अध्यक्ष एवं समूह सदस्य एकमाया विक, राजनीतीकर्मी कृष्ण केसी, नविन शर्मा, हिरालाल लोनिया, माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइराला, द्वन्द पीडित शोभा विसी लगायतले आवश्यक सुझाव दिनु भएको थियो ।



Prawash Kumar Shakya । १ असार २०७३, बुधबार १२:०१ बजे