नेताको मनमा नभई जनताको मनमा बस्न सिकौं 


                                    चित्रसिंह गाउँले
   समय निकै खर्चिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्र हुँदै प्रदेश सम्मको एकता टुंगोमा पुर्याएको छ । हाम्रो अपेक्षा यति समय नलागोस् भन्ने थियो । यसरी एकता प्रक्रिया टुंगिदै अाउदा पदीय जिम्मेवारी पाएकाहरु महाभारत जितेजस्तै गरिरहेका छन् भने जिम्मेवारी नपाएकाहरु अालाप विलाप गरेको पनि देख्न पाइन्छ । नेपालको कम्युनिस्ट अान्दोलनको इतिहासमा पदका लागि मरिहत्ते सायद हालैका दिनहरुमा बढी भैरहेको छ भन्ने मलाई महसुस छ । कालिकोटको जुविथामा एकजना निकै जुवा खेल्न रुचाउने मान्छे थिए अरे । विरामी भएर मृत्युवर्ण गर्नै थाल्दा केही गरे काल नअाएपछि अन्तिममा हुकुमको एक्का (तासको पत्ता) घोटेर मुखमा हाल्दा हुन्थ्यो कि भनिएछ । अहिले नेकपामा केही नेताहरूलाई पदको मोहपनि त्यहीँसम्म पुग्न थालेको छ । अाफुले टेकेको धरातल कहाँ छ ? पार्टी संगठनलाई एकीकृत बनाएर मजवुत ढंगले सञ्चालन गर्दै अाम कार्यकर्ता ज जनतामा साँच्चिकै कम्युनिस्ट पार्टी यो देशमा छ है भन्ने अनुभुति दिलाउने विषय कहाँ छ ? यी सबै विषय बिर्सेर व्यक्तिगत जिम्मेवारीका लागि अनौपचारिक रुपमा गोविन्द केसीले जस्तै अनसनमा छन् हाम्रा केही नेतागणहरु ।
    केन्द्र पार्टीलेपनि जिम्मेवारी व्यवस्थापनको विषयलाई निकै पेचिलो नबनाई दिनु पर्थ्यो । एउटा नीति र   मापदण्डका अाधारमा समयमै जिल्ला तह सम्मको नेतृत्व टुंगो लगाउन सक्नु पर्थ्यो । त्यो विषयमा भएको ढिलाइले देशव्यापी रुपमा सांगठनिक काम मात्रै नभएर जनतासँग सम्बन्धित महत्त्वपूर्ण सवालहरु पनि प्रभावित हुन पुगेका छन । कार्यकर्ता र शुभचिन्तकहरु लगाम बिनाका घोडा बनेर जता मन लाग्यो त्यतै दौडिने स्थिति बनेको छ । कम्युनिस्ट सरकारबाट थुप्रै अपेक्षा राखेकाहरु लाई सरकार र पार्टीप्रतिको निरासा बढाउदै अाफुतिर तान्नेमा अर्को थरी विप्लप नेकपा क्रियासिल छ । अन्य क्षेत्रमा यसले प्रभाव नपार्ला तर कर्णाली र सुदुरपश्चिम प्रदेशमा सत्तासिन नेकपाको संगठनलाई नै कमजोर बनाउन विप्लप नेकपा एउटा शक्ति सावित भैदिन सक्छ । तीनै तहका सरकारले गरेका राम्रा/नराम्रा कामको जिम्मेवारी नेकपामाथि अाउने गरेको छ । केन्द्र र जिल्ला सरकारमा रहेकाहरु त पार्टीले चाहेमा फिर्ता बोलाइदिन सक्छ भनेर पार्टी र जनताप्रति उत्तरदायी हुन खोज्छन् होला । तर, स्थानीय सरकारवाला जनप्रतिनिधि साँच्चिकै गाउँमा सिंहदरबार हैन सिंह पसेको अनुभुति गराइ रहेका छन् । स्थानीय तहको वडाध्यक्ष अाफैलाइ जिताउने कार्यकर्ताको कुरै छाड्नुस् जिल्ला नेतृत्वको अावाजपनि कदर नगर्नेवाला छन् । यो समयमा जिल्ला नेतृत्व वास्तवमै सर्व स्वीकार्य किसिमको चयन हुन अावश्यक छ । तत्कालीन पार्टीको प्रतिनिधित्वको खिचातानी र कित्ताव्यवहार कायम भएमा जनप्रतिनिधिसँग समन्वय गर्दै पार्टीको प्रभाव कायम गराउने विषय अोझेल पर्ने छ ।
     कम्युनिस्ट क्रान्ति भनेपछि धिक्कार गर्नेहरु पनि हाल नेकपाभित्र छिरेकै छन । वर्गसंघर्षको मैदानमा स्पात बनेका कार्यकर्ताहरु अवसर लिनेमा उनीहरु भन्दा पछि पर्ने स्थिति बन्न थाल्दैछ । हिजोको नेकपा (एमाले) मा रहेको कार्यकर्ता अनुमोदित नेता बन्ने परिपाटीलाई लामो समय सम्म अबको नेतृत्वबाट अनुमोदित कार्यकर्ता बन्नुपर्ने परिपाटीले असर पार्ने देखिदैछ । नेताहरूलाई खोचोपोको लिएर जानेहरु अवसर पाउने अनि कुना कन्दरामा वसेर जनताको मनमा वसेकाहरु पञ्छिने परिपाटी विकसित हुनु राम्रो हैन । हामीले पहाडतिरका धेरैजसो घट्ट देखेकै छौं । धेरैजसो घट्टमा दाना झार्ने काम कटकटेले गरेको हुन्छ । केही घट्टमा दाना भरिएको कोठाको पछाडि डोरी राखिएको हुन्छ र डोरी हल्लाएर दाना झार्ने गरिन्छ । त्यस्ता डोरीलाइ लोलाख्या भनिन्छ । यस्तै लोलाख्या कोही नबनिदिम चाहे नेता चाहे कार्यकर्ता । हजारौं जना सहिद बनाएको, हजारौं बेपत्ता भैरहेको स्थितिमा नेपालमा करिब दुई तिहाइ नजिकको नेकपा तल्ला तहसम्म पार्टी नेतृत्व चयन ढिला हुँदै गएमा यसको असर कति पर्ला । अर्को तिर उमेर बुढिएको मान्छेजस्तै अास्था बुढिएको नेपाली कांग्रेस सरकारले अाफ्ना सामुन्नेमै गरेका राम्रा कामपनि नदेखेर केहीपनि गरेन भन्दै हिड्ने गरिरहेको छ । जनमत र वैचारिक धरातल दुवैतिरबाट नाङ्गेझार बन्दै धोती फुस्केको कांग्रेसको सामु हामी नेकपाको तर्फबाट जनतामा नीति र व्यवहारमा नमुना बन्न सक्नै पर्छ । यो बेलामा चुकी/नचुकी केन्द्र स्तरबाट भएर अाएका निर्णयलाई स्वीकार गर्नैपर्छ । अाफुमा लागेका कुरा विसाल्ने ठाउँ भनेका हामी जुन जिम्मेवारीमा रहन्छौ ती कमिटी छँदैछन् । केन्द्रमा रहेका नेतालाई समेत गलत निर्णयलिनमा प्रोत्साहित गर्ने काम भएकै देखिन्छ र नेतृत्वपनि चुकेको पाइन्छ ।
    अबको सन्दर्भमा जिल्ला नेतृत्वको पनि चाँडै टुंगो लागोस् । नेतृत्व प्राप्तिका लागि मरि मेटेका कमरेडहरु जिम्मेवारी वहन गर्ने विषयमा पनि मरिमेटी लाग्ने परिपाटी विकास गरौं । जिम्मेवारी पाउन कम्युनिस्ट नेता/कार्यकर्ताले गर्न‌ै नमिल्ने हर्कत गर्नपनि पछि नपर्ने तर जिम्मेवारी पाइसके उपर्खुट्टी हालेर अाँगनमै वसि पल्लो घरको कार्यकर्ता वित्दा समेत मलामी नजाने अानीबानीलाइ तिलाञ्जली दिन सकौं । कार्यकर्ता अनुमोदित पार्टी प्रणाली लागू हुन थाल्दा अवश्यपनि नेतृत्वमा हुनपर्ने विशेषता भएका नेताहरुनै चयन हुन्छन् । यतिबेला त्यो स्थिति छैन । हिजो चुनावमा जसलाई उठाउदा जित्छ र जो अाफुसँग नजिक छ भन्ने हेरेर टिकट दिई जिताइएका जनप्रतिनिधिको व्यवहार हेरियो । अब को कार्यकर्ता असल छ र पार्टीको सही नेतृत्व गर्न सक्छ भन्ने नहेरी नबुझी निर्णय नगरियोस् । अाज सम्म अाउदा जे गल्ती कमजोरी भएका छन् तिनमा सुधारका प्रयत्नहरु अाजैबाट थालियोस् ।संस्थागत हितको भावनामा उत्प्रेरित हुँदै सम्पूर्ण पङ्ति अाजको उपलब्धिलाई जोगाउन लागि परौं । जिम्मेवारी नपाएका कमरेडहरु पनि नरोउ निरमाया संसार अाफ्नै छ भन्ने बुझौं । सामाजिक सञ्जाल र चोकचोकलाइ कुरा विसाल्ने ठाउँ बनाएर वह मेट्ने वा नेतृत्वलाई दबाबमा पार्न खोज्ने प्रवृत्तिलाई अन्त्य गरौं ।
                                                                        (लेखक गाउँले तत्कालीन नेकपा एमाले कालीकोटका पार्टी सचिव हुन् ।)