७ पौष, सुर्खेत । दाङ्ग जिल्लाको तुल्सीपुर नगरपालिका वडा नं. ३ राम्रीमा हिजो भएको बस दुर्घटना र त्यसवाट भएको ठुलो मानवीय क्षतीप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यूले गहिरो दुख व्यक्त गर्नुभएको छ ।
प्राविधिक शिक्षा हाँसील गरिरहेका विद्यार्थीहरुको दुखद निधनले सिंगो मुलुकलाई नै ठुलो क्षति पुगेको भन्दै मुख्यमन्त्री शाहीले उक्त दुर्घटनामा ज्यान गुमाउने सवैप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले शोकमा रहनुभएका मृतकका आफन्तजनहरु धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरु सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
अधिकाँश कर्णाली प्रदेशवासी विद्यार्थीहरुको निधन हुनेगरि भएको दुर्घटनाको खवर पाउनासाथ प्रदेश सरकारको तर्फवाट उद्धार तथा उपचारको लागि आवश्यक पहल भएको, प्रदेश सरकारकै पहलमा मृतकहरुको शव हेलीकोप्टर मार्फत सम्वन्धितको घर सम्म पुरयाईएको र घाईतेहरुको थप उपचारको लागि हेलीकोप्टर मार्फत सुविधासम्पन्न अस्पतालमा लगि भरपर्दो उपचार व्यवस्था मिलाईएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
मुख्यमन्त्री शाहीले घाईतेहरुको उपचारका लागि कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै दुर्घटनाको खवर पाउने वित्तिकै उद्धार, उपचार तथा सुचना संप्रेशनमा खटने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, संचारकर्मी, स्थानीय जनता तथा सरकारी अधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
बढ्दो सडक दुर्घटना र त्यसवाट र्भइरहेको ठुलो मानवीय क्षतिले आफुलाई चिन्तीत बनाएको उल्लेख गर्दै कर्णालीका मुख्यमन्त्री शाहीले सडक दुर्घटना न्युनीकरणको प्रभावकारी कदम चाल्न सम्वद्ध सवै निकायलाई आग्रह गर्नुभएको छ ।



Milan Shrestha । ७ पुष २०७५, शनिबार २१:०५ बजे