सुर्खेत उद्योग वाणिज्य संघद्धारा अग्निपीडितहरुका लागी राहात संकलन ।


पुस,१२ सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले कालिकोटको पलाँताका अग्निपीडितहरुका लागि विहीबार वीरेन्द्रनगरमा राहत संकलन शुरु गरेको छ । बिहीबार पहिलो दिन संघका पदाधिकारीले व्यक्तिरुपमा नगद संकलन शुरु गरेलगत्तै वीरेन्द्रनगरको गोदामबाट मंगलगढी चौक हुँदै बिच बजार क्षेत्रका व्यापारी व्यवसायीहरुबाट राहत संकलन गरिएको हो । बिहीबार पहिलो दिन वीरेन्द्रनगरका व्यापारीहरुबाट स्वेच्छिक रुपमा ८० हजार नगद तथा खाद्यान्न, जिन्सी संकलन भएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिनुभयो ।

राहत संकलन अभियान शुक्रबार पनि जारी रहने बताउँदै उहाँले अग्निीपीडितहरुलाई जिन्सी सहयोग गर्न चाहनेले संघको कार्यालयमा सामान बुझाउन सक्ने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो । यस्तै आर्थिक सहयोग गर्न चाहनेले सिटिजन्स बैंक सुर्खेतमा संघद्धारा स्थापित दैवीप्रकोप राहत कोषको खाता नं. ०३३००००३३९CA मा ईच्छा अनुसारको रकम जम्मा गरी त्यसको भौचर संघमा बुझाई दिनपनि महासचिव कंडेलले आग्रह गर्नुभएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष धनबहादुर रावतको नेतृत्वमा संघका पदाधिकारीहरु आफै राहत संकलनमा लागिपरेका छन । कालिकोटमा परेको विपत्तिमा मानवीयताका साथै कालीकोट उद्योग वाणिज्य संघले गरेको आग्रह अनुसार राहत संकलन शुरु गरिएको अध्यक्ष रातवले बताउनुभयो ।

साभारः नेपालगाथा ।