१७ बुँदे मिछुर्लुङ घोषणापत्र जारी गर्दै फोनिजको संघीय बैठक सम्पन्न


२८ पौष, पोखरा । नेपाल आदिवासी पत्रकार महासंघ(फोनिज)को संघीय समितिको तेश्रो पुर्ण बैठक शनिवार तनहूँ जिल्लाको भिमाद नगपालिका ५ मिछुर्लुङमा सम्पन्न भएको छ ।

संगठनलाई संघीय संरचनामा रुपान्तरणसँगै फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा सम्पन्न मिछुर्लुङ बैठकले १७ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा, श्रमजीवी पत्रकार ऐन एवं सरकारले तय गरेको न्यूनतम् पारिश्रमिक सबै सञ्चारमाध्यममा तत्काल कार्यान्वयन गर्नुपर्ने, सरकारले हालै निर्माण गरेको समावेशी सञ्चार नीति संघ, प्रदेश र स्थानीय सरकारमा तत्काल कार्यान्वयन गर्नुपर्ने, सरकारी तथा नीजि सञ्चार माध्यमहरुमा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलित, पछाडी पारिएको क्षेत्रलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराउने व्यवस्था गरियोस् उल्लेख छ । यसरी नै केन्द्र, प्रदेश तथा स्थानीय सरकारले बजेट निर्माण गर्दा आदिवासी जनजाति समुदायका पत्रकार सम्वद्ध संघ संस्थालाई न्यायोचित रुपमा वितरण, आदिबासी जनजाति पत्रकारको क्षमता अभिबृद्धि तथा सशक्तिकरणका लागि तालिम प्रशिक्षणका निम्ति सरकारको तर्फबाट आवश्यक बजेटको व्यवस्था, आदिवासी जनजाति समुदायका भाषा, लिपि, संस्कार, संस्कृतिको सम्वर्धन हुनेगरी सरकारी तथा निजी सञ्चार माध्यमहरुबाट अनिवार्य रुपले कार्यक्रम प्रकाशन र प्रसारण गर्ने नीति निर्माण गर्न आग्रह गरिएको छ ।

प्रदेश र स्थानीय सरकारले आदिवासी जनजाति तथा लोपोन्मुख समुदायको उत्थान तथा प्रवर्धनलागि आवश्यक बजेटको व्यवस्था गरी त्यसको समुचित रुपमा वितरण, सबै क्षेत्रमा समानुपातिक, समावेशी विज्ञापन नीति लागु गर्नुपर्ने, आदिवासी जनजाति समुदायको विषय उठान गर्दै आएका मातृभाषी सञ्चार माध्यमहरुको निरन्तरता तथा क्षमता अभिवृद्धिका निम्ती आवश्यक बजेटको व्यवस्था, नेपाल पत्रकार महासंघको हालै सम्पन्न भएको विराटनगरको राष्ट्रिय भेलामा प्रस्तावित प्रत्यक्ष निर्वाचन प्रणालीलाई स्वागत गर्दै निर्वाचनमा समानुपातिक, समावेशीताको सिद्धान्तको आधारमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधानको व्यवस्था गर्नुपर्ने घोषणापत्रमा समेटिएको छ ।

यस्तै गरी मूलुकी देवानी (संहिता) २०७४ र मूलुकी फौजदारी (संहिता) ऐन २०७४ तथा गोपनियताको हक सम्बन्धी व्यवस्थामा प्रेस स्वतन्त्रतालाई संकुचन पार्ने प्रावधानहरु संशोधन गरी प्रेस मैत्री बनाउन सुझाव कार्यदलले दिएको प्रतिवेदन सार्वजनिक गरी तत्काल कार्यान्वयन, सबै प्रदेश तथा स्थानीय सरकारमा आदिवासी जनजाति समुदायको बाहुल्यता भएको ठाउँमा मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा अवलम्बन गर्नुपर्ने, नेपाल सरकारले गरेको आदिवासी जनजाति समुदायका मौलिक चाडपर्वहरुको विदा कटौतीको निर्णयहरु पुनरावलोकन गर्ने प्रक्रिया सरकारले थालेकोमा स्वागत गर्दै छुट भएका आदिवासी जनजातिको प्रमुख चाडमा सार्वजनिक विदाको व्यवस्था गर्न माग गरिएको छ ।

बैठकले भिमाद नगरपालिकालाई नमुना नगरपालिका निर्माण अभियान प्रवर्धन कार्यमा फोनिजको तर्फबाट सञ्चार माध्यममार्फत सहयोग तथा पैरवी गर्ने र मिछुर्लुङ सामुदायिक होमस्टे (घरबास) लाई नमुना होमस्टे बनाउने नगरपालिका र होमस्टे समितिको योजनामा सञ्चार माध्यम मार्फत प्रचारप्रसार गरेर आवश्यक सहयोग गर्ने घोषणा गरेको छ । यस्तै गरी दीर्घ रोग लागेर उपचाररत पत्रकार विजय रानामगर, रञ्जु दनुवार तथा दिवंगत मकरध्वज (एमडी) कुलुङको आश्रित परिवारलाई आर्थिक सहयोगको आव्हान गर्दै फोनिज संघीय समितिको तेस्रो पुर्ण बैठक तथा फोनिज गण्डकी प्रदेशको प्रथम प्रदेश भेला भिमाद नगरपालिका ५ मिछुर्लुङ (सामुदायिक होमस्टे)मा आयोजना गर्नका निम्ती सहयोग उपलब्ध गराउनुभएकोमा भिमाद नगरपालिका तथा नगरपालिकाका प्रमुख मेखबहादुर थापा मगरसहित नगरपालिका परिवार, मिछुर्लुङ सामुदायिक होमस्टे समिति, फोनिज तनहुँ शाखा र कास्की शाखाप्रति घोषणापत्र मार्फत हार्दिक आभार व्यक्त गरिएको छ ।

मिछुर्लुङ घोषणा पत्र तयार गर्न फोनिजका वरिष्ठ उपाध्यक्ष गजुरधन राईको संयोजकत्वमा उपाध्यक्षद्वारा लक्की चौधरी, देविका घर्ती र प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङ रहेको समिति गठन गरिएको थियो । ऐतिहासिक मिछुर्लुङ गाँउमा सम्पन्न बैठकले आगामी फागुन ८ गते कास्कीका फोनिजको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

भेलामा संघीय समिति, विभागहरु, जिल्ला र प्रवास शाखाका अध्यक्षहरु गरी करिब एक सय सहभागी हुने महासचिव मनोज घर्ती मगरले बताउनुभयो । बैठकमा महासचिव मनोज घर्ती मगरले प्रस्तुत गर्नुभएको संगठनात्मक कार्यप्रगति एवम भावी कार्यक्रम समन्त्री प्रतिवेदन, कोषाध्यक्ष अमरध्वज लामाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

यसरी नै सातै प्रदेशमा हालै गठन भएको प्रादेशिक तदर्थ समितिहरुलाई संघीय समितिले अनुमोदन गरेको थियो भने बैठकमा प्रदेश इञ्चार्जहरु दिपिन राई, समिर बलामी, हुमबहादुर गुरुङ, देव पचभैया, अशोक राजि र रामचन्द्र कुश्मीले प्रदेशको गतिविधीको रिपोटिङ गर्नुभएको थियो।